विराटनगरमा लोड भएर सुनसरी हुँदै भारत पुग्यो स्याउ, डिआइजी जाँदाजाँदै फसे सुनसरीका एसपी

विराटनगरमा लोड भएर सुनसरी हुँदै भारत पुग्यो स्याउ, डिआइजी जाँदाजाँदै फसे सुनसरीका एसपी

विराटनगर । तीनवटा ट्रकमा लोड गरेर भारत पु¥याइएको एकहजार ३५० कार्टुन स्याउमध्ये एउटा ट्रक विराटनगरमा नै लोड गरिएको खुलेको छ । विराटनगरका फलफुट व्यापारी शंखर चौधरीले चीनबाट आयात गरेको स्याउ अवैध रुपमा भारत पठाउनका लागि जानकी कोल्ड स्टोरबाट ट्रकमा लोड गरेको खुलेको हो । बाँकी दुईवटा ट्रक भने धनुषाबाट सप्तरी हुँदै सुनसरीे भित्रिएको थियो ।

चौधरीको विराटनगरमा शंकर फ्रुट नामको आधिकारिक व्यवसाय फर्म छ । उनले चीनबाट स्याउ आयात गर्ने र खुल्ला सीमानाका हुँदै भारत पठाउँदै आएका छन् । पछिल्लो स्याउ रसुवाबाट आएको खुलेको छ । चौधरीकोे यो धन्दासँग भारतीय नागरिक मो.अर्लाम जोडिएका छन् । अर्लाम् समेत विराटनगरमा बसेर नेपाल–भारत तस्करी कारोबार गरेर बसेका छन् । उनीहरुले पठाएको स्याउ भारतीय व्यापारी पवन चौधरी (जैसवाल)ले मगाएका हुन् ।

भारतीय प्रहरीले नेपाली तीनवटा ट्रकबाट पल्टी गर्ने क्रममा नेपाल–भारतका ६ वटा ट्रकसहित ८ जनालाई नियन्त्रणमा लिएपछि सुरु भएको स्याउ तस्करी प्रकरण नेपाली सुरक्षा अधिकारीका लागि निक्कै चुनौतीको विषय बनेको छ । सरकारको निर्णय अनुसार बन्द भएको सीमानाकाबाट पठाइएको तीन ट्रक स्याउ भारतमा पक्राउपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारी समेत छानविनको दायरामा परेका हुन् ।

नेपाल प्रहरीतर्फ संलग्नको छानविनका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । यो समितिले अहिले ट्रकका चालकसँग सोधपुछ गर्ने काम गरिरहेको छ । स्याउ व्यापारी चौधरी भने सोमबारसम्म प्रहरीको सम्पर्कमा छैनन् । उनलाई प्रहरीले यस प्रकरणमा बुझ्नका लागि खोजी गरिरहेको छ । स्याउ तस्करी प्रकरणमा प्रहरीको सेटिङका विषयमा बुझ्न ट्रकका चालकसँग अनुसन्धान टोलिले सोधपुछ गरेको हो ।

पूर्व सूचना थियो स्याउ तस्करीको
विराटनगरबाट लोड गरिएको स्याउ यस अगाडी नै सीमा क्षेत्र तारिगामा (गडेरिया) बाट कटाउन प्रयास गरिएको थियो । तर, भारतमा सहज नहुने देखिएपछि प्रहरीसँगको सेटिङमा फिर्ता गरेर कोल्ड स्टोरमा राखिएको खुलेको छ । मनिस साह र रिङ्कु आलमले गडेरिया र जगदीस साहले भेडियारी क्षेत्रबाट स्याउ, मटर, मरिच लगायतका सामाग्री व्यापारीसँगको कन्ट्याक्टमा सीमा कटाउने काम गर्दै आएका छन् । मनिस र रिङ्कुसँग विराटनगरका राजकुमार भगतको समेत साझेदारी रहेको छ । तर, पछिल्लो समय भगतको साह र आलमसँगको पार्टनरसीपमा बेमेल रहेको बताइन्छ ।

सीमा क्षेत्रबाट फिर्ता गरिएको त्यहि स्याउ सुनसरीबाट कटाउने प्रयास गरिएको सूचना पाएपछि प्रदेश १ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द शाहको टोलिले पिछा गरेको थियो । शाहले प्रदेश १ प्रहरी कार्यालयको आरआईटीको टोलिलाई छोडेर दंगा प्रहरी कार्यालय दुहवीको टोलिलाई खटाएका थिए ।
तर, प्रहरीले पिछा गरिरहेको खबर पाएका तस्करहरुले सुनसरी र सप्तरीको भित्री गाउँमा परालले छोपेर ट्रक लुकाएको खुलेको छ । त्यसैबेला एसएसपी शाह आफ्नो घरायसी कामका लागि गएको मौका छोपेर जेठ अन्तिममा स्याउ सुनसरी हुँदै कटाइएको थियो । स्याउ कटाइएको नेपाल प्रहरीले सूचना नपाएपनि सीमापारी प्रहरीलाई यस बारेमा खबर गरिसकिएको थियो, त्यसैले योजनावद्ध सीमा कटाइएको स्याउ भारतमा पक्राउ परेको हो ।

सुनसरीको श्रीपुर, लाही, साहेबगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट तस्करी हँुँदै आएको छ । त्यहाँबाट अवैध रुपमा भित्र्याउने सामान विराटनगरसम्म आउने गरेको छ । नेपाल प्रहरी मात्रै नभई पछिल्लो स्याउ प्रकरणमा सशस्त्र प्रहरी बल बिओपी लाहीका इन्चार्ज प्रहरी निरीक्षक महेश कार्कीसहितको टोलिलाई समेत फिर्ता बोलाइएको छ । लाही नाकाबाटै स्याउ भारतको वीरपुर पुगेको दावी छ ।

स्याउमा उछालियो डिआईजी कार्की र एसपी थापाको विवाद
प्रदेश १ मा जिम्मेवारी सम्हाल्न आएदेखि नै अवैध कारोबार र संस्थागत तस्करीको लाइन चलाएको आरोप लाग्ने प्रहरी नायव महानिरीक्षक डिआईजी इश्वरबाबु कार्की र सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाबीच छ महिना अगाडी देखिनै चिसोपना सुरु भएको थियो । छ महिना अगाडी सुरु भएको चिसोपना डिआईजी कार्कीको जाने समयमा एसपी थापालाई संकट पार्नेस्तरमा उछालिएको हो । प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लालाई कटाएर छुट्टै अनुगमन टोलि पठाएको विषयमा करिब छ महिना अगाडीदेखि निक्कै ठूलो ‘टसल’ रहेको बताइन्छ । तर, डिआईजी कार्कीले भने प्रहरी संगठन भित्र टसल भन्ने कुरा नहुने बताउनुभयो । मैले आईजीसँग टसल गरे जस्तै हो, एसपीले डिआईजीसँग टसल गर्ने–डिआईजी कार्कीले भन्नुभयो–यो कुनै विषय हैनन् । छानविनको प्रतिवेदन आइतबारसम्म आएपछि संलग्नहरुलाई कारवाही हुन्छ । म गएर के हुन्छ र, छानविनको प्रतिवेदन त प्रहरी संगठन भित्रको हुन्छ ।

यहि बीचमा सुनसरीको सीमा क्षेत्र तस्करीको ‘हटस्पट’ बन्दै गएको थियो । गाँजा, लागुऔषध, इन्धन, अन्य सामाग्रीको चोरी निकासी–पैठारी नियन्त्रण बाहिर पुगेको बेला स्याउ प्रकरणमा आउँदा डिआईजी कार्की र एसपी थापाबीचको सम्बन्ध झन् उछालिएको हो । भारतसँग सीमा जोडिएका जिल्लामा यस्ता प्रकरण पछिल्लो एकवर्ष नजानिँदोसँग हुँदै आएका छन् । सुनसरीबाट यस अगाडी सशस्त्र प्रहरीले लागुऔषध बरामद गरेको विषयमा समेत डिआईजी कार्कीले एसपी थापाको संलग्नता आशंका गर्दै छानविन गर्ने मनसाय राखेका थिए । तर, त्यसलाई त्यसै टारिएको थियो ।

सट्टेबाज पक्राउ गर्न ‘अन्डरकभर अप्रेशन’ चालेका प्रहरीको भएको थियो सरुवा
सीमा क्षेत्रबाट हुने अवैध कारोबार र अवैध सट्टेबाज तथा हुण्डि कारोबारीको सुझाव मान्ने गरेको भन्दै डिआईजी कार्कीलाई तल्लो तहका प्रहरीहरुले त्यसैपनि आरोप लगाउँदै आएका थिए । गतवर्ष आईपीएल हुँदा विराटनगरको बिग होटलमा बसेर नेपाल–भारतका सट्टेबाजले बुक्की चलाएको सूचना पाएपछि ‘अन्डरकभर अप्रेशन’मा गएका एकजना प्रहरी निरीक्षकको बिनाशर्त विराटनगरबाट सरुवा गरिएको विषय निक्कै चर्चामा आएको थियो । त्यसदिन होटलमा भेटिएका विराटनगरका सुन व्यापारी अरुण राठी तथा अर्का अरुण सुराना डिआईजी कार्कीसँग सबैभन्दा नजिक भएर पछिल्लो एकवर्ष आफ्नो धन्देवाला काम चलाएको धेरैको बुझाई छ । उनीहरुले सहपाठीको रुपमा डिआईजी कार्कीलाई चिनाउँदै तस्करीको जालोलाई आफ्नो सम्पर्कमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्