विराटनगर महानगरको बजेट चार अर्ब १० करोड ३ लाख ३८ हजार

विराटनगर महानगरको बजेट चार अर्ब १० करोड ३ लाख ३८ हजार

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । राजश्व तथा स्रोतको तुलनामा महानगरले ठूलो आकारको बजेट सार्वजानिक गरेको हो ।

बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको अनुमान प्रस्तुत गर्नु भएको थियो । आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपिँया खर्च हुने महानगरले अनुमान गरेको हो ।

महानगरले प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट प्रस्तुत गरेको छ । जसमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

बजेटमा पुूँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । महानगरका क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपिँया बजेट विनियोजन गरेको छ ।

महानगरका वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकिालन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपीयाँ विनियोजन गरिएको छ ।

नगरसभामा त्रीवर्षीय मध्यकालिन खर्च संरचना अन्तरगत आगामी तीन वर्षको खर्चको अनुमान पनि पेश गरेको छ । महानगरले आर्थिक वर्ष २०७९÷८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ ।
पछिल्लो चार वर्षको उपलब्धिहरुको समीक्षा गर्दै महानगरले पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न गरी ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको महानगरले जनाएको छ । पछिल्लो चार वर्षमा पूर्वाधार विकास महाशाखाबाट ११ किलोमिटर कालोपत्रे सडक, ७४ किलोमिटर ग्राभेल, ६४ किलोमिटर रिटेनिङ वाल, ५४ किलोमिटर सडक नाला निर्माण गरेको, २०९ वटा भवन र १०० वटा कल्भर्ट बनाएको, चार वटा मसानघाट र ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको, दुई वटा खेलमैदान सुधार गरेको महानगरले जनाएको छ ।

महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अरब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ । यस अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरेको भएपनि ८८ करोड मात्र खर्च गर्न सकेको छ । महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भएपनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख रुपीयाँ मात्र आम्दानी गरेको छ ।

महानगरले आगामी वर्ष हामी सबैको रहर, शिक्षित, सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने नारासहित नगर विकासको योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सुशासनमा सुधार ल्याउने, वातावरण संरक्षण र सुरक्षा प्रवद्र्धन, वालश्रममुक्त वडा घोषणा गर्ने, नगरस्तरी खेलकुद विकास समिति गठन गर्ने र खेल प्रतियोगिताहरु सञ्चालन गर्ने, जनस्वास्थ्यलाई ध्यान दिँदै महिला तथा जेष्ठ नागरिक र बाल बालिकाको स्थास्थ्यका क्षेत्रमा विशेष योगदान दिने जस्ता कार्यक्रम अगाडि सारेको उल्लेख छ । महानगरले २० लाख रुपीयाँ भन्दा बढीका योजनाहरु ठेक्का मार्फत सञ्चालन गर्ने, चालु तथा क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजनाहरु अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्