विराटनगर । विराटनगर महानगरपालिका जुवा तथा सट्टेबाजी (फाट्का) र अवैध मुद्रा ओसारपसारको केन्द्र बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजानिक गरेको एकवर्षको अवधीेका मुख्य कामको सूचिमा सट्टेवाज, अवैध मुद्रादेखि फेसबुक अपराध र त्यसका विरुद्धका उजुरी तथा अनुसन्धानको संख्या उल्लेख्य छन् ।
मोरङमा एकवर्ष अगाडी सुरक्षाको जिम्मेवारी लिएर आउनु भएका प्रहरी उपरीक्षक सन्तोष खड्का नेतृत्वको टोलिले गरेका मुख्य कामको सूचिमा फरक किसिमका अपराधको ट्रेन बढ्दै गएको उल्लेख गरिएको छ । २०७७ जेठ ९ गते मोरङ हाँजिर हुनु भएका एसपी खड्काले शुक्रबार मात्रै मोरङ छोडेर केन्द्रीय अपराध अनुसन्धान ब्यूरो जानु भएको छ । एसपी खड्काको ठाउँमा जनार्दन जिसीले मोरङको कमाण्ड सम्हाल्ने गरि आउँदै हुनुहुन्छ । सरुवा हुनु भएका जिसी केहिदिनमा मोरङमा हाँजिर हुनुहुने बताइएको छ ।
यस बीचमा मोरङमा उनको नेतृत्वको टोलिले हारजित हुने जुवा र सट्टेबाजीमा संलग्न ७४ जना मानिस व्यक्ति, २८ वटा सवारी साधन र १५ लाख ८८ हजार ७ सय ४१ नगद पक्राउ गरेको छ । भारतमा आईपीएल चल्दा विराटनगरमा मोवायलबाटै सट्टेबाज चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरु विरुद्ध मुद्दा दर्ता समेत गरेको उल्लेख छ ।
प्रहरीले यसबीचमा विराटनगरमा नाम चलेका भनिएका सट्टेबाज विराटनगर–१५ का मुन्ना भन्ने सत्यजित साहलाई ६० हजार नगदसहित, विराटनगर–१६ का अफजल अली, पुरुषोत्तम साह र मन्जित साहलाई २६ हजार रुपैँयासहित नियन्त्रणमा लिएर अदालतमा पेश गरेको उल्लेख गरेको छ । तर, प्रहरीले सार्वजानिक गरेको तथ्यांकमा विराटनगरबाट पक्राउ परेका जगदिश साह, रोनल कँडेलको नाम भने समावेश गरेको छैन । कँडेलले सट्टेबाजको रकम असुल्न होटलको कोठामा राखेर एक व्यक्तिलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका थिए । जगदिश साह र कँडेल विराटनगरका नामुद सट्टेबाजका प्रतिनिधि मानिएका थिए । यीमध्ये साह भने अहिले तस्करीको लाइन चलाईरहेको दावी छ ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले मुख्य अभियुक्तको नाम हाल्दा अन्य छुटेको हुनसक्ने आशंका गर्नुभयो । यद्यपी डिएपी मुकारुङ्ग भने यी घटना हुँदाताका मोरङमा आउनु भएको थिएन ।
अवैध जुवा तथा सट्टेबाजसँगै जोडिएको भारतीय नक्कली नोट बोकेर विराटनगरको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गर्नेहरुको संख्या समेत उतिकै बढेको देखिएको छ । प्रहरीले भारतीय नोट चारलाख ७३ हजार र स्रोत नखुलेको नेपाली रुपिँया १७ हजारसहित व्यक्तिहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
प्रहरीले भारतीय नक्कली नोट १७ हजार ७०० सहित दुई जनालाई रंगेली–८ दर्वेसाबाट पक्राउ समेत गरेको थियो । यसैगरी विराटनगर–१६ दक्षिणगेटबाट २० हजारसहित एकजना, विराटनगर–१७ मटेरुवा नाकाबाट २ लाख ४६ हजारसहित एकजना, मटेरुवाबाटै झापा दमक–९ पाडाजुँगी बस्ने ३१ वर्षीय पुरुषको साथबाट एक लाख ४ हजार, मटेरुवाबाटै धरान–८ का पुरुषको साथबाट एकलाख ३ हजार बरामद गरिएको उल्लेख छ ।
एकवर्षमा ६९ फेसबुक बन्द
मोरङ प्रहरीमा एकवर्षको अवधीमा फेसबुक अपराध सम्बन्धि ११३ वटा निवेदन परेका छन् । अनुसन्धानमा जटिल मानिने फेसबुक अपराध उजुरीका आधारमा प्रहरीले ६९ फेसबुक एकाउन्ट बन्द गराएको छ ।
निषेधाज्ञा उलंघन आरोपमा २३४५ जना कारवाही
कोरोना संक्रमण न्यूनीकरणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३४५ जना यसबीचमा कारवाही परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार निषेधाज्ञा उल्लंघन गर्नेबाट १२ लाख ८१ हजार १ सय जरिवाना असुल गरिएको छ ।
कर्तव्य ज्यानका तीन घटनामा ८ जना पक्राउ
प्रहरीले उर्लाबारी नगरपालिका–६ स्थित रमेश गिरीको घरमा हत्या भएका प्रविण बास्तोलाको मृत्युका सम्बन्धमा ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये दुईजना धरौटीमा छुटेका छन् । बाँकी चारजना अदालतको आदेशपछि पूर्पक्षका लागि कारागारमा चलान भएका छन् ।
यसैगरी मोरङ सुन्दरहरैंचा–३ का विष्णु ऋषिदेवको धारिलो हतिहार प्रहार गरि हत्या गर्ने पुजन राईलाई पक्राउ गर्न सफल भएको छ । राई हाल पूर्पक्षका लागि कारागार चलान भएका छन् । यसैगरी रतुवामाई–४ सिङगारीमा कानेपोखरी सरिता सोरेनको हत्या आरोपमा सुफल हस्दालाई पक्राउ गरिएको छ । प्रहरीले घटना भएका ढेड महिनापछि उनलाई पक्राउ गरि हाल अनुसन्धानको प्रक्रियामा रहेका छन् ।
राजश्व संकलनमा बृद्धि
सीमा क्षेत्रबाट तस्करीको लाइन बढेसँगै प्रहरीले अवैध सामान चोरी निकासी गर्नेहरुलाई नियन्त्रण गर्ने र राजश्व असुल्ने काममा भने बृद्धि भएको छ । यो अवधीमा मोरङ प्रहरीले चार करोड ७७ लाख २८ हजार ४८७ रुपिँया राजश्व संकलन गरेको छ । यसमा संलग्न आरोपमा ६४ जना व्यक्ति र ८२ सवारी साधन नियन्त्रणमा परेका छन् । अवैध चोरी निकासी तथा पैठारीमा प्रहरीले अघिल्ला वषको तुलनामा ६२ प्रतिशत बृद्धि गरेको उल्लेख छ ।
यसैगरी नदीजन्य सामाग्रीको अवैध उत्खननमा संलग्न भएका २५४ सवारी साधनसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ । जसमध्ये २२४ ट्याक्टर, १७ वटा ट्रिपर, १३ वटा जेसीबीलाई नियन्त्रणमा लिँदा २७ लाख ६३ हजार ४२० जरिवना असुल गरिएको छ ।
प्रहरीले ३५.५ क्यू फिट अवैध काठ बरामद गरेको छ । यस कार्यमा संलग्न ९ जना व्यक्ति र ३ वटा सवारी नियन्त्रणमा परेका छन् । उनीहरुबाट १० लाख ७ हजार ७०० रुपिँया जरिवाना असुल गरिएको छ ।
१२१ फरार प्रतिवादी पक्राउ
मोरङ प्रहरीले यस अवधीमा १२१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । उनीहरुबाट ५३ बर्ष ११ महिना १ दिन कैद भुक्तान गराएको छ । यसैगरी २९ लाख ४६ हजार ७ सय ३५ जरिवाना असुल गरिएको छ ।
ट्राफिक प्रहरी कारवाहीमा उल्लेख्य सफलता
मोरङमा यस अवधीमा ट्राफिक प्रहरी कारवाही उल्लेख्य देखिएको छ । एकवर्षमा ६८ हजार २२४ सवारी साधन कारवाहीमा पर्दा ४ करोड ६५ लाख ९ हजार ५०० राजश्व संकलन भएको छ । यसैष्री मापसे कारवाहीर्मा ३९३ वटा सवारी चालकका धनी परेका छन् । उनीहरुबाट ३ लाख ९३ हजार रुपिँया राजश्व संकलन गरिएको छ ।
११ हजार लिटर घरेलु मदिरा बरामद
प्रहरीले एकवर्षको अवधीमा ११ हजार ६५८ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालयमा बुझाएको छ । प्रहरीको सम्प्रेषण गरेको सूचना अनुसार १३ हजार ८८१ बोतल चलानी मदिरा समेत यसबीचमा नियन्त्रणमा लिइएको थियो । घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ४२५ केजी र सातजना मानिस र १६ वटा सवारी साधन समेत पक्राउ परेका छन् ।
हराएका मोमो खोज्न कठिनाई
मोरङमा एकवर्षमा मात्रै ११७ वटा मोटरसाइकल हराएका छन् । यीमध्ये २१ व्टा मात्रै फेला पारिएको प्रहरीको तथ्यांकमा छ । हराएकामध्ये ९६ मोटरसाइकलको अझै खोजतलास भईरहेको प्रहरीले बताएको छ । यसैगरी एकवर्षमा १ हजार २७८ थान मोवायल हराएको निवेदन प्रहरीमा दर्ता भएको छ । प्रहरीले यीमध्ये ४४१ मोवायल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिइएको छ । बाँकी ८३७ मोयालको खोजतलास जारी रहेको उल्लेख छ ।
लागुऔषधको अत्प्रयासित जालो
सीमा क्षेत्र भएका कारण मोरङ लागुऔषधको ट्रान्जिट नै बनेको छ । प्रहरीले एकवर्षको अवधीमा १७३ केजी १६ ग्राम गाँजा, १३ ग्राम ८६ मिलीग्राम चरेश र १९४ ग्राम खैरो हिरोईन बरामद गरेको छ । यसैगरी नाईट्रभेट–७२१८, लुपिजेसिक–१६९३, डाईजेपाम–४२, एभिल–४११, नाईट्रोसन–११०, डाईजेल्याव–८८९, स्मासोप्रोक्सिभन–२६२८, नाईट्रोजेपाम–७४१, फेनारगन–६००, नुरफिन–१९० र आईसीई २२२ ग्राम १५० मिलीग्राम सहित २८६ जना मानिस पक्राउ गरेको छ ।