विराटनगर । प्रदेश १ का पाँचसहित देशभरका १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा विराटनगरको एउटा निर्माण कम्पनि समेत रहेको छ ।
कोशी अस्पताल विराटनगरको सिफारिसमा विराटनगर–१ स्थित कार्यालय रहेको सन्देश–सौगात ट्रेड एण्ड सप्लायर्सलाई कालोसूचीमा राखिएको हो । सञ्चालक हिरामणी पौडेल रहेको सप्लायर्सले सम्झौता अनुसारको खरिद प्रक्रिया पूरा नगरेको भन्दै एकवर्षसम्म कालोसूचीमा राखिएको छ ।
सार्वजानिक खरिद अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा सूचिकृत गरेको हो । कालोसूचीमा परेकाहरुले तोकिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
प्रदेश १ बाट कालोसूचीमा पर्नेहरुमा झापा कन्काई–८ को फ्रेण्ड्स अर्विट कन्ट्रक्सन सर्भिसेज प्रा.लि. रहेको छ । खगेन्द्र संग्रौला मूल्य व्यक्ति रहेको फ्रेण्डस्लाई अर्जुनधारा नगरपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको हो । यसैगरी सडक डिभिजन तुम्लिङटारको सिफारिसमा शान्ता थापा प्रमुख व्यक्ति रहेको हिमालय कन्ट्रक्सन प्रा.लि.खाँदबारी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा अशोक गोयल मुख्य व्यक्ति रहेको धरान–९ को अम्बा स्टोर, सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको सिफारिसमा भलबहादुर राई मुख्य व्यक्ति रहेको एस.पी.निर्माण सेवा इटहरीलाई समेत कालोसूचीमा राखिएको छ ।