आज असार २२ गते संघिय सरकारको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घन्टामा नेपालमा जम्मा १५ जना मानिसहरुको कोभिड १९ संक्रमणले मृत्यु भएको देखिएको छ । तर यहि समय प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा मात्र १६ जना संक्रमितको मृत्यु भएको देखिएको छ ।
यसरी एकै समयावधीमा पुरा देशमा भन्दा प्रदेश १ मा कसरी देशमा भन्दा बढि मृत्यु संख्या हुन सक्छ ?
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिवालय संयोजक डाक्टर रविन्द्र निरौलासँग सोध्दा पछिल्लो २४ घण्टामा प्रदेश एकमा १६ जनाको नै मृत्यु भएको दाबी गर्नुभयो । उहाँले केन्द्र र आफुहरुले तथ्याकं संकलन गर्ने तरिका फरक भएकाले तथ्याकंमा पनि फरक परेको हुन सक्ने बताउनु भयो।
केन्द्र र प्रदेशको मात्र नभई विराटनगर महानगरपालिकाको तथ्याकं समेत प्रदेश एकको तथ्याकंसँग केहि अघि सम्म मेल खाँदैन थियो । निक्कै समय देखिएको यो समस्या पछि प्रदेश सरकारले तथ्याकं सार्वजनिक गर्ने समय लगायतका मापदण्डमा एकरुपता लागु गरेको थियो ।
तर अझै कोभिड १९ को तथ्याकं सार्वजनिक गर्ने क्रममा संघिय र प्रदेश १ सरकार बिच देखिएको यो तथ्याकंको फरकले दुबै तह बिच महामारी नियन्त्रणमा हुनु पर्ने समन्वयमा कुन हदको त्रुटी छ भन्ने स्पष्ट हुन्छ ।