नेपालमा कोभिड १९ को तेस्रो लहर कहिले र किन आउनेछ ? (भिडियो सहित)

सरोज कार्की

नेपालमा कोरोना भाईरस महामारीको पहिलो लहरले २०२० को अक्टोबर महिनाको तेस्रो साता तिर चुचुरो छोएको थियो । र दोस्रो लहरले २०२१ मे महिनाको तेस्रो साता तिर पिक छोएको थियो । यसरी नेपालमा कोरोना भाईरसको दुई लहरको चरम बिन्दु बिच ६ महिनाको फरकमा थियो ।

र नेपालमा आएको दुबै लहर भारतमा आएको लहरहरुसँग अनेक रुपमा उस्तै उस्तै देखिन्छ । भारतमा पहिलो लहरले पिक समातेको करिब ३ साता पछि नेपालमा त्यो बिन्दु छोएको थियो भने भारतमा दोस्रो लहरले पिक छोएको २ साता भन्दा कम समयमा नेपालमा पनि उक्त बिन्दु छोएको देखिन्छ ।

र अहिले नेपालमा र भारत दुबै देशमा दोश्रो लहर समाप्ति तिर बढ्दै गर्दा विश्वका थुप्रै अन्य देशहरुले तेस्रो लहर सामना गरिसकेका छन् । जर्मनी, फ्रान्सले गत अप्रिल महिनामै तेस्रो लहरको सामना गरेभने बेलायतले भर्खरै यसको सुरुवात हुदैछ । यसै गरि अमेरिकामा त कोरोनाभाईरस महामारीको चौथो लहर समेत आईसकेको छ ।

दोश्रो लहरको संक्रमणदर बल्ल घट्दै गरेको नेपालमा तेस्रो लहर आउछ कि आउदैन ? र यदि तेस्रो लहर नेपालमा आउछ भने कहिले र के कारणले गर्दा आउनेछ भनि अब कुरा गर्नेछु ।

कोरोना भाईरस महामारीको दुई लहरहरु बिच कति समयको फरक हुन्छ भन्ने समय संसार भर समानता छैन ।
जर्मनीमा पहिलो लहर र दोश्रो लहर बिचको फरक करिह ८ महिनाको थियो तर दोस्रो र तेस्रो लहर बिचको फरक करिब ४ महिना मात्र थियो । चार लहर खेपिसकेको अमेरिकामा भने पहिलो लहर अप्रिल २०२० ,मा आएको ३ महिना पछि जुलाई २०२० मा दोश्रो लहर , त्यसको ६ महिना पछि जनवरी २०२१ र त्यसको फेरी ३ महिना पछि अप्रिल २०२१ मा चौथो लहर देखिएको थियो ।

भयाक्सिनको उपलब्धता, मानिसहरुको व्यवहार र त्यस देशमा फैलिएको कोरोना भाईरसको भेरियन्ट जस्ता थुप्रै कुराहरुले यसमा धेरै हदसम्म भूमिका खेल्दछन् ।

र संसार भरि नै यति बेला कोरोनाभाईरसको नयाँ नयाँ भेरियन्टहरुका कारण नयाँ लहरहरु देखिरहेको छ। भाईरसहरुको म्युटेसन र भेरियन्टको बारेमा जानकारी लिन चाहनेहरुको लागि डिस्क्रिप्सनमा अर्को भिडियोको लिंक राखेको छु ।

अब प्रश्न आउछ नेपालमा तेस्रो लहर कहिले आउनेछ ?

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा तेस्रो लहर कहिले आउछ भनि त्यसको समय अनुमान गरिसकिएको छैन र त्यो अनुमान गर्न भर्खर 'मोडलिङ'को काम भइरहेको छ । स्वास्थ्य मन्त्रालयले अनुसन्धान नै नगरेता पनि नेपालमा विज्ञहरुले तेस्रो लहर जसरी पनि आउने बताईरहेका छन् । र कतिपय विज्ञहरुले नेपालमा तेस्रो लहर कहिले आउछ भन्ने प्रश्नको उत्तर दिन भारतमा आउन सक्ने तेस्रो लहरको समयावधीलाई आधार मान्ने गरेका छन् ।
र भारतमा अगस्ट २१ भित्रमा तेस्रो लहर प्रवेश गर्न सुरु हुने र त्यसको एक महिनामा सेप्टेम्बर तिर यसले चुचुरो छुने एसबिआई रिसर्चलाई उदृत गर्दै संचारमाध्यमहरुले लेखिरहेका छन् । यसलाई आधार मान्ने हो भने नेपालमा पनि तेस्रो लहर आगामी एक महिनादेखि अढाई महिनाको बिच आउन सक्छ । र यसमा विभिन्न कारणले यो भन्दा छिटो वा ढिलो तेस्रो लहर आउन सक्छ ।

र नेपालमा तेस्रो लहर आउछ भने त्यसको लागि यि कारणहरु मुख्य जिम्मेवार हुनेछन् :

नयाँ भेरिएन्ट: डेल्टा प्लस
भारतबाट सुरु भएको र सुरुमा इन्डियन भेरियन्ट भनि चिनिएको डेल्टा भेरियन्ट भारतमा मात्र नभई नेपालमा अनि संसारका अन्य थुप्रै देशहरुमा कोभिड १९ महामारीको नयाँ लहरको कारक मानिन्छ । नेपालको दोश्रो लहरमा डेल्टा भेरिएन्टका करिब ९७ प्रतिशत संक्रमणका घटनाहरु देखिएका छन् । डेल्टा भेरियन्टका बारेमा बुझि नसक्दै यसको म्युटेन्टको रुपमा डेल्टा प्लस हामी बिच आईसकेको छ । यो निक्कै चाँडो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरि अझ बढि संक्रामक र संक्रमितहरुमा अस्पताल भर्ना हुने दर बढि भएको कारण यसैबाट तेस्रो लहर आउन सक्ने विज्ञहरुले अनुमान गरिरहेका छन् । यस भेरिएन्टको थप लक्षण र क्षमताका बारेमा थप अनुसन्धान भईरहेको । साथै नयाँ भेरियन्टहरुलाई कोभिड १९ विरुद्धको भ्याक्सिनले कत्तिको प्रभाव पार्छ भन्ने कुराले पनि यसको प्रभावमा असर पार्न सक्छ । डेल्टा प्लस जस्ता भेरिएन्टहरूको सक्रिय उपस्थितिले नेपालमा तेस्रो लहर आउन सक्छ ।

खोपको उपलब्धता
गत ४ जुलाईको तथ्याकं अनुसार नेपालमा ७ लाख ६० हजार मानिसले दुबै डोजको भ्याक्सिन लगाएका छन् । साथै पहिलो डोज मात्र लगाउने मानिसहरुको संख्या 18 लाख 50 हजार भन्दा बढि छ । भारतबाट ल्याएर कोभिड सिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ७० हजार मानिसहरु दोश्रो डोजको प्रतिक्षामा छन् । नेपालमा करिब १० प्रतिशत मानिसले एक मात्रा खोप लगाएका छन् भने करिब ३ प्रतिशत जनसंख्याले मात्र दुबै मात्राको खोप लगाएका छन् ।ति पनि सहर केन्द्रित छन् ।
कोभिड १९ को महामारीबाट सुरक्षित हुनका लागि आवश्यक पर्ने हर्ड इम्युनिटि विकसित गर्नका लागि कुनै पनि देशको कम्तिमा ७० देखि ९० प्रतिशत जनसंख्यामा कोभिड १९ प्रतिरोधात्मक क्षमता विकास भएको हुनु पर्दछ । यो क्षमता खोपबाट वा भर्खरै भाईरसको संक्रमण भएर विकास हुन सक्छ । तर कोभिड १९ विरुद्धको खोप लगाएका साथै पछिल्लो ५ महिना यता कोरोनाभाईरस संक्रमण भएका नेपालका करिब ६ लाख मानिसहरु सहित यति बेला नेपालमा १० प्रतिशत भन्दा पनि निक्कै कम मानिसमा कोभिड १९ प्रतिरोधात्मक क्षमता छ । खोप अभाव र यसका कारण हुने प्रतिरोधात्मक क्षमताको अभावका कारण नेपालमा तेस्रो लहर आउने निश्चित छ ।

कमजोर स्वास्थ्य मापदण्ड
कोरोना भाईरसको प्रसार रोक्न ठुला ठुला कुनै पाईला चाल्न आवश्यक छैन यदि प्रत्येक मानिस सचेत हुन्छन् र स्वास्थ्य मापदण्ड पालना गर्छन भने । र स्वास्थ्य मापदण्ड निक्कै सरल छ । मास्कको प्रयोग गर्ने, हात सफा राख्ने , भिडमा नजाने वा सुरक्षित भएर मात्र जाने । यति गर्न सक्यो भने कोरोनाभाईरस संक्रमण फैलन पाउदैन ।
यसैलाई संस्थागत रुप दिन सरकारले संक्रमण बढ्ने बित्तिकै निषेधाज्ञा घोषणा गर्ने गर्दछ । र नेपालमा निषेधाज्ञाको पालनाको अवस्था कस्तो हुन्छ भन्ने बताईरहन आवश्यक छैन ।
र निषेधाज्ञा केहि खुकुलो हुन पाएको छैन हामीले बजारमा बिना मास्क हिडडुल गर्न , भेला हुन मात्र नभई बिहेभोज गर्न कार्यक्रम गर्न थालेका छौं । यहि कारणले पनि कोरोना भाईरसको तेस्रो लहर आउने निश्चित छ ।

परीक्षण फितलो
कोभिड १९ संक्रमणका यि दुई वर्षको अवधीका संसारभरका घटना र अनुसन्धान हेर्दा लक्षण नदेखिने एसिम्प्टोमेटिक वा लक्षण देखिनु भन्दा अघिको सुरुवाती चरणका प्रिसिम्प्टोमेटिक संक्रमितहरुले यस्तो साईलेन्ट स्प्रिडर्सको भुमिका निर्वाह गरिरहेका छन् जसले कोभिड फैलाउन नजानिदो पाराले सहयोग गरिरहेका छन् । तर नेपालमा केहि समयदेखि परीक्षणको दायरा घटाउदै लक्षणविहिन मानिसहरुको परीक्षण गर्न रोकिएको छ ।
जब कि नेपालमा गत ५ जुलाई २०२१ को तथ्यांक हेर्ने हो भने पिसिआओ परीक्षण गरिएको ७ हजार ४ सय ९९ जना मध्ये १७ सय ४५ जनामा कोभिड १९ संक्रमण देखियो । यो २३ दशमलव २ ७ प्रतिशत संक्रमण दर हो । अवस्था सामान्य हुनका लागि संक्रमण दर ५ प्रतिशत भन्दा कम हुनु पर्ने विज्ञहरु बताउछन् । यति धेरै संक्रमण दर हुँदा हुदै परीक्षणको दायरा र संख्या नेपालमा घट्दै गएको छ ।
तर विज्ञहरुले परीक्षणको दायरा बढाउनु पर्ने, मास टेस्टिगं, सोसल टेस्टिगंलाई प्राथमिकतामा राख्नु पर्ने विचार राखिरहँदा नेपालमा भने दोस्रो लहरमा कन्ट्रयाक्ट ट्रेसिगंका कार्यलाई समेत प्राथमिकतामा राखिएको छैन जसले गर्दा संक्रमणको जालो भित्र भित्रै फैलने र अत्यन्त धेरै मानिसहरुलाई प्रभावित पारिसकेपछि मात्र बाहिर थाहा हुने सम्भावना अत्यन्त धेरै छ ।
त्यसैले परीक्षणको घट्दो संख्या र दायरा, कमजोर कन्ट्याक्ट ट्रेसिंग र साईलेन्ट स्प्रिडर्सहरुको कारणले पनि नेपालमा कोरोना भाईरसको तेस्रो लहर आउने निश्चित छ ।

भारतसँगको अनियन्त्रित सिमाना
भारतसँग नेपालको १८ सय ५० किलोमिटर भन्दा लामो सिमाना जोडिएको छ । जहाँ सुविधासम्पन्न हेल्थ डेस्कको उपस्थिति नै छैन । र एक मुलुकबाट अर्को मुलुक जान आउन कुनै अवरोध छैन । सरकारले सिमा बन्दको घोषणा गरेर मुल नाकाहरुमा कडाई गरिरहँदा सिमानामा हजारौं किलोमिटर त्यस्ता क्षेत्र छन् जहाँबाट सजिलै सिमा वारपार भईरहेको हुन्छ । मानिसहरु विना रोकटोक आवतजावत गरिरहेका हुन्छन् । 
र संसारमै सबै भन्दा बढि जनसंख्या भएको र सबै भन्दा बढि प्रभावित भएको मुलुकको गरि दुबै सूचीमा दोश्रो स्थानमा रहेको भारतसँग यसरी अनियन्त्रित आवत जावत हुँदा एकातिर तेस्रो लहर आउने र अर्को तिर नआउने भन्ने हुँदैन । त्यसैले भारतमा तेस्रो लहर आईरहँदा नेपालमा पनि तेस्रो लहर आउने निश्चित छ ।

र तेस्रो लहरको मात्रा कत्रो हुने हो, यसले कति क्षति पुर्याउनेछ भन्ने कुरा हाम्रो तयारी र सजगताले नै निक्यौल गर्ने छ ।

र यसका लागि जनता र सरकार दुबैले आफ्नो भूमिका राम्रो सँग पुरा गर्नु पर्दछ ।

सरकारले:
- भ्याक्सिन अभियानलाई सकेसम्म बृहत बनाउने र थप तिब्रता दिनु पर्दछ । साथै खोप प्रति जनताको विश्वास बढाउने अभियानहरुसँगै संचालन गर्नु पर्दछ । खोप प्रतिको अविश्वासको कारण नै नेपालमा पहिलो चरणको खोप कार्यक्रम असफल भएको थियो र फेक न्युज र सामाजिक संजालमा फैलिएका हल्लाहरुका कारण नेपालमा खोप प्रति अविश्वास गर्नेहरु अझ नेपालमा छन् ।
- साथै नेपालमा सकारात्मक कुरा के हुनसक्छ भने सबै भन्दा बढि जनसम्पर्कमा आउने फ्रन्टलाईनरहरु डाक्टर, प्रहरी, स्थानीय सरकारका कर्मचारीहरुले प्राथमिकताका साथ खोप लगाएका छन् । यसले भाईरसको प्रसारलाई केहि हदसम्म स्लो गर्न मद्दत गर्छ तर यसका साथै फ्रन्टलाईनरको व्याख्यालाई अझ फराकिलो बनाएर त्यसमा हाम्रो समुदायको अझ बढि असुरक्षित भई कोभिड महामारी बिच काम गरिरहेको वर्गलाई समेट्न आवश्यक छ । जसमा असंगठित वर्ग जस्तै चिया पसले , सिटि सफारी चालक , तरकारी व्यापारी, सामान डेलिभरी गर्नेहरु वा किराना पसलका व्यापारीहरु जसले कुनै पनि समय कुनै समुदायमा सुपरस्प्रिडरका रुपमा कार्य गर्न सक्छन् । ति व्यक्तिहरुलाई पनि खोपको दायरामा यथासक्य चाँडो ल्याउन आवश्यक छ ।
- यसै गरि सरकारले स्वास्थ्य मापदण्डको निगरानी गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्दछ ।
- परीक्षण, कन्ट्रयाक्ट ट्रेसिंगलाई थप
- भेरियन्टहरुको सुक्ष्म अध्ययन र अनुसन्धान गरि आउन सक्ने जोखिम न्युनिकरण गर्नु पर्दछ ।
- स्वास्थ्य पुर्वाधारमा लगानी बढाउनु पर्दछ ।

र यसलाई रोक्न र क्षति न्युनिकरण गर्न व्यक्तिगत रुपमा पनि हामीले सुरक्षा सावधानी अपनाउन आवश्यक छ । मास्क लगाउने, हात लगायत शरिर सफा राख्ने, भिडभाडमा नजाने , सामाजिक दुरी कायम राख्ने गर्नुपर्दछ ताकि अरु कसैबाट तपाईमा कोरोना भाईरस नसरोस र तपाईमा भाईरस छ भने पनि अरुतिर प्रसार नहोस् ।
साथै
- व्यक्तिगत स्वास्थ्य लाई ध्यान दिने ताकि शरिरमा रोग प्रतिरोधात्मक शक्ति बलियो होस् । यसले कोभिड लागि हालेपनि अस्पताल भर्ना हुने र मृत्यु हुने सम्भावनालाई कम बनाउन सकियोस् ।

र अन्त्यमा फेरी यो कुरामा जोड दिन्छु कि नेपालमा तेस्रो लहरको महामारी आउने कुरामा कुनै दुविधा छैन । यो अवस्य हामी बिच आउनेनै छ तर सतर्क, सजग र तयार भई यसको प्रभाव कम गराउदै सामना गर्ने कि हजारौं जीवन र अर्थतन्त्रलाई यसको सिकार हुन दिने हो त्यो पनि तपाई हाम्रै हातमा छ । यसमा हामी हरेक नेपालीको उत्तिनै भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्