जेठका उत्कृष्ट प्रहरी, असारमै कारवाही

जेठका उत्कृष्ट प्रहरी, असारमै कारवाही

विराटनगर । प्रदेश प्रहरी कार्यालयद्वारा जेठ महिनामा उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएका प्रहरी जवान राजेश यादव ,सम्मानित भएको महिना नपुग्दै कारवाहीमा तानिएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा उनको उत्कृष्ट विवरणसहितको फ्लेक्स झिक्न नपाउँदै यादव कारवाहीमा त्यहि कार्यालय तानिएका हुन् ।

तत्कालिन प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीलाई रिझाएका यादव जेठ महिनामा उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका थिए । प्रदेशभरीका प्रहरीको कार्यसम्पादनका आधारमा यादवलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको थियो ।
तत्कालिन डिआईजी कार्कीले उत्कृष्ट प्रहरीको सम्मान दिईरहेका बेला प्रहरी जवान यादवले भने जताततै पैसा असुलेको भन्दै अख्तियारमा उजुरी परिसकेको थियो । त्यहि उजुरीका आधारमा अख्तियारले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन गरेपछि उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको हो ।

नगर प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका थिए । उनलाई सीमाबाट हुने तस्करीको लाइन मिलाउनका लागि तत्कालिन प्रहरीका उच्च अधिकारीहरुले परिचालन गर्ने गरेको आरोप थियो । जिल्ला प्रहरी कार्यालयमा तत्कालिन एसपी सन्तोष खड्का बिदा भएर नयाँ एसपी जनार्दन जिसी हाजिर भएको साता नपुग्दै यादव विरुद्ध अख्तियारले प्रश्न उठाएको हो ।

उनले प्रहरीका उच्च अधिकारीलाई मिलाउनु पर्ने भन्दै रकम माग्ने गरेको व्यहोराको उजुरी अख्तियारमा परेपछि छानविन सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नविनराज राईले अख्तियारले प्रश्न उठाएपछि केहि सोधपुछका लागि बोलाइएको बताउनुभयो । पैसा उठाउने गरेको भनेर यादव विरुद्ध अख्तियारमा बेनामे उजुरी परेको रहेछ, प्रहरी उपरीक्षक राईले भन्नुभयो–अख्तियारले नै छानविनका लागि निर्देशन दिएपछि सोधपुछ भईरहेको छ ।

यादवले मोरङको सीमा क्षेत्रबाट हुने अवैध तस्करीको लाइनमा संस्थागत सेटिङको नेतृत्व गरेको आरोप लाग्दै आएको थियो । खाद्यन्न र किराना आईटमको अवैध कारोबार गर्ने विराटनगर–९ का बिनोद केशरी, कपडाको कारोबार गर्ने बरगाछीका बब्लु अग्रवाल, वारीपारी तस्करी चलाउने भारतीय नागरिक मिथुन, कपडा ओसारपसार गर्ने सैनिक टोलका धिरु काली, ढुंगागिटी तस्करी गर्ने विराटनगरका नरेश साह, भेडियारी नाकाबाट स्याउ, मरिच, मटर र सुपारी तस्करी गर्ने जगदीस साह, गडेरिया नाकाबाट स्याउ, मरिच, मटर तस्करी चलाउने मनिस साह, रिङ्कु आलम, चोप्राहाबाट तस्करीको लाइन चलाउने मनोज साह र डुमरियाबाट लाइन चलाउने व्यापारीसहितसँग प्रहरी जवान यादवले रकम असुल्ने गरेको आरोप छ ।

यसैगरी भन्सार क्षेत्रबाटै भन्सारका कर्मचारीसँगको सेटिङमा सामान भित्र्याउने राजकुमार रौनियार, अकबर अलि, मुन्ना मियाँ, मटेरवाका मो.मर्गुफ समेत उनको योजनामा गाँसिने गरेको बताइन्छ । प्रहरीका उच्च अधिकारीसँग सम्पर्कमा रहेर काम गर्ने प्रहरी जवान यादवले अन्य प्रहरीलाई समेत सताउने गरेको आरोप लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्