काठमाडौँ
विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदै छ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबिच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ ।
उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधवार देखी नै सुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।
सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने
नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्नुहुने भएको छ । परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले एक साताअघि नै जापान पुगेर अभ्यास थाल्नुभएको थियो । परियारको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नुहुनेछ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी हुनुभएको छ ।
पौडीकी गौरिकाले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गर्नुभएको थियो । उहाँले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसै गरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ । -रेडियो नेपाल