भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

भारत

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको कुल सङ्ख्या घटेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ । भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म भारतमा ४५ करोड २९ लाख ३९ हजार ५४५ ओटा स्वाब परीक्षण गरिएको छ । पछिल्लो एक दिनमा भने १६ लाख ६८ हजार ५६१ जनाको कोरोना परीक्षण गरिएको परिषदले जनाएको छ ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.३६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । ती मध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्