संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई, निश्चित क्षेत्र सिलबन्दी गर्नसक्ने

संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई, निश्चित क्षेत्र सिलबन्दी गर्नसक्ने

विराटनगर

संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखदेखि लगाउँदै आएको निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय तहको अवस्था हेरेर बिद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । शुक्रबारदेखि लागू हुने गरी जारी नयाँ आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सिकाई निर्देशिकाको आधारमा भौतिक उपस्थितिमै पठनपाठन गराउन सक्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

यसका लागि पालिकाहरुले आफ्नो क्षेत्रभित्रको संक्रमणको अवस्था विश्लेषण र जोखिम व्यवस्थापनको तयारी समेत गर्नुपर्ने छ । बिद्यालयमा आवश्यक स्वास्थ्य मापदण्ड पालना भए नभएको अवस्था अनुगमन गरि बिद्यालय सञ्चालन गराउनुपर्नेछ । पालिकाको निश्चित क्षेत्रमा कोभिड–१९ को जोखिम देखिएमा पालिकाहरुले नै निश्चित स्थान सिलबन्दी गरेर नियन्त्रण तथा न्यूनीकरण गर्नसक्ने अधिकार समेत दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी आदेशले होटल, मोटल र रेष्टु–राँलाई समेत सञ्चालनमा खुकुलो बनाएको छ । होटललाई नियमित सञ्चालन गर्न पाउने गरि खुल्ला गरिएको हो । तर, होटलमा हुने भीडभाडका गतिविधि भने खुल्ला गरिएको छैन । सेमिनार, गोष्ठी, विवाह, ब्रतबन्धलगायत भीडभाड हुने कार्यक्रम अहिले नै तत्काल नगर्न आग्रह गरिएको छ ।

यसैगरी विभिन्न संघ तथा संस्थाहरुले भौतिक उपस्थितिमा गर्नैपर्ने भेला, गोष्ठि, साधारणसभाको हकमा स्थानीय प्रशासनसँग पूर्व स्वीकृति लिएर मात्रै गर्नुपर्ने आदेश जारी गरिएको छ । स्वीकृति लिएर गरिएका यस्ता औपचारिक कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरिनुपर्ने आदेशमा उल्लेख छ ।
सार्वजानिक यातायातमा तोकिएको सिटसंख्या भन्दा बढी यात्रु राख्न नपाउने र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरिनुपर्ने छ । नेपाल भित्र प्रवेश गर्ने नागरिकको सीमा क्षेत्रमा हेल्थडेक्समा एन्टीजेन परीक्षण गराउनुपर्ने र पोजेटिभ केशमा अनिवार्य आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन आदेश गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले रानी नाकाबाट मात्रै प्रवेश पाउने आदेश जारी गरिएको छ ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि गत बैशाखयता बिद्यालयहरु बन्द रहेका छन् । नयाँ शैक्षिक स त्रको पठनपाठना गतिविधि शहरी क्षेत्रमा अनलाइनबाट भएपनि ग्रामिण क्षेत्रमा अझैसम्म सञ्चालनमा आउन सकेको छैन । संक्रमणको दर हेरेर जोखिम कम हुने क्षेत्रका बिद्यालय यो आदेशसँगै सञ्चालनमा आउन सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्