नयाँदिल्ली
भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९ सय ६५ जना कोरोना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा ४ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै ३० हजार २सय ३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १ सय १५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कूल तीन करोड १९ लाख ९३ हजार ६ सय ४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९ सय ६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८ सय ८० जना पुगेका मन्त्रालयले बुधबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७८ हजार १ सय ८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।
भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २ सय ९३ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा १६ लाख छ हजार ७ सय ८५ जना कोरोना परिक्षण भएको समाचारमा जनाइएको छ ।
यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । गत अगस्तभर मात्र १८ करोड तीन लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
– एएनआई