कैंलो कपाल
गहिरा आँखा
पातला जुगाँ
सर्लक्क परेको ज्यान
र मन्द मुस्कान सहित
घरको भित्तामा
समाधिस्थ हुनुहुन्छ बा ।।
बर्षौंदेखी ....।
बा आउने र जानेसंग
उसैगरी सम्मोहनपुर्वक
हाँसिदिनुहुन्छ ।
शहरको कोलाहाल
सडकको दुर्गन्ध
आउने र जानेका
टिठलाग्दा उचाइको
बालाइ खासै पर्बाह छैन ।
किनकी बा समाधिस्थ हुनुहुन्छ ।
आफ्नै पथमा ।
बा का बोल्नै लागेका ओठहरु
अनायास हामिलाइ देखेर बोल्न थाल्छन ।
जसले, हामिमा पराकम्पन सृजना गर्छ ।
आँखाहरु सजल बन्छन ।
र सजिब पनि ।
जब हामी छेउ पर्छौं....
एकाएक ती आँखामा
सुदुर सपना सल्बलाउँछ ।
बा भुगोलको सर्वोत्तम उचाईमा हुनुहुन्छ ।
जाँहा सार्वभौमिकताको कुनै प्रश्न छैन ।
बा को युगिन जिजीविषाको
बेजोड सामर्थ्यको अघि
त्यसै त्यसै....
निम्छरो बनिदिन्छ ।
यो वायु ।
यो घाम ।
यो पृथ्वी ।
र यावत सत्यहरु ।
किनकी बा समाधिस्थ हुनुहुन्छ आफ्नै पथमा ।
बा ब्ल्याकेन्ह्वाइट फ्रेममा बसेर
रंगिन दुनिया सयर गर्नुहुन्छ ।
रंगहरुको रसायन
रंगहरुको मिश्रण
र रंगहरुको दुर्गन्धमा
बा बेपर्वाह हिडिदिनुहुन्छ ।
बेमतलब बनिदिनुहुन्छ ।
जब जब
यामहरु बदलिन्छन ।
घामहरु बदलिन्छन ।
सोच्दै नसोची
जीवनका आयामहरु बदलिन्छन ।
बा को ब्ल्याकेनह्वाइट विश्व
हठात बहुरंगी बनिदिन्छ ।
बा कतै जानू भएको छैन ।
उहीँ मन्द मुस्कान सहित
घरको भित्तामा समाधिस्थ हुनुहुन्छ ।
बर्षौंदेखी ।