प्रेम देवान
विराटनगर । कुनैबेला शिव मन्दिरहरुमा खुटा राख्ने ठाँउ हुन्थेन तिजको बेला । तर कोरोना कहरका कारण विगतको बर्षदेखी नेपाली दिदीबहिनीहरुले घर मै समिति रुपमा मनाएका छन् ।
नेपालीहरुको ठुला चाडवाडहरु मध्ये हिन्दु नारीहरुको महान पर्वका रुपमा हरितालिका तीजलाई लिइन्छ । तर मुलुकमा कोरोना भाईरस कोभिड १९ ले गर्दा हरितालिका तीजलाई पनि प्रत्यक्ष रुपमा असर पारेर नै छाड्यो । सबैभन्दा ठूलो मानिएको पशुपनिाथ मन्दिरमा यसपटक पनि प्रवेशमा रोक लगाएपछि धेरै नेपाली दिदिबहिनीहरुलाई खल्लो महशुुस भएको छ ।
यो चाडलाई आम नेपाली महिलाहरुकोे सामाजिक एवं साँस्कतिक अधिकार र स्वतन्त्रताको चाडका रुपमा समेत मनाईन्छ । खास गरी विवाहित महिलालाई पराईको घरमा निर्वाह गर्नुपरेको कार्य तथा जिम्मेवारीबाट हुने क्षणिक मुक्ति र तनाव अन्य गर्न एवं जन्मथलोका साथिभाई र माईतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वले महत्वपूर्ण भुमिका खेलेको पाईन्छ । तर पछिल्लो समय भने अविवाहित महिलाहरुले पनि पानी पनि नखाई बर्त बस्ने गरेका छन् ।
खास गरी पार्वतीको कठोर तपस्या गरेर फलस्वरुप शिव पार्वतीको विवाह भएको भन्ने किम्वदन्ती छ । उक्त दिन भाद्र शुक्ल तृतीयाको दिन भएको हुनाले हरेक वर्ष हिन्दु महिलाहरुले सो दिनलाई उत्सवको रुपमा मनाउन थालिएको कुरा पौराणिक कालदेखि चल्दै आएको पाईन्छ ।
आजभोलि हरितालिका तीज समयसँगै आधुनिक हँुदै गएको र महिलाहरुले वर्षभरिका दुःख, पीडा र संघर्षलाई भुलेर नयाँ नयाँ कपडा तथा गरगहना सहित खानपिन र नाचगान गर्दै रमाउने पर्वका रुपमा मनाउने गरेको धेरै उदाहणहरु प्रशस्त मात्रामा देख्न सकिन्छ ।
हिन्दु नारीहरुको महानपर्व तीज (हरितालिका)मा महिलाहरु मिठामिठा परिकार सहित नयाँ र चम्किला कपडाहरुमा सजिई दिदीबहिनीहरु जम्मा भएर खुसी, मनोरञ्जन तथा सुखदुःख साटासाट गरी नाचगान गर्दै निकै हर्ष उल्लासका साथ मनाईने तीज पर्व यसवर्ष कोरोनाको कहरमा परी खल्लो र निरश हुन पुगेको छ ।
विराटनगरमा रहेका शिव मन्दिरहरुमा पनि विगतको जस्तो रमझम भने खासै देखिएन । सिमित रुपमा मन्दिर पुगेका महिलाहरुले पुजापाठ गरी फर्किहाल्ने गर्दथे । मन्दिरमा बढी भिडभाड हुने डरले परिवारमा सिमित रहेर नाचगान गरेका दृष्य विराटनगरमा फाट्ट फुट्ट देखिन्थे ।
हुनत विगतका दिनमा तीजका बेला सार्वजनिक खुला चौरमा, मन्दिर विद्यालय परिसर र पाटि प्यालेसमा महंगो भोज सहित तडकभडक शैलीमा नाचगान हुने गर्थे जो यसपटक शुन्यमा झरेको छ । कोरोनाको कहरका बीचमा तीजको रौनक र उत्साह कम देखिए पनि यसले हाम्रा चाडपर्वलाई मौलिक, सरल, सभ्य र शिष्ट रुपले मनाउनु पर्दछ भन्ने सिकाएको छ ।