भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप १ सय १४ जनाको मृत्यु

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप १ सय १४ जनाको मृत्यु

नयाँ दिल्ली |

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९ सय ७३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै १० हजारले बढी थियो । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २ सय ६० जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ । अघिल्लो दिन ३ सय ३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

एक दिनमा कूल मृत्यु भएकामध्ये १ सय १४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा २६ हजार २ सय नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १ सय ९६ जना सङ्क्रमित भएका थिए । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भारतमा तीन लाख ९० हजार ६ सय ४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झण्डै तीन हजार बढी थियो । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै आएको हो ।

पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६ सय ८१ जना सङ्क्रमण मुक्त भएका छन् । अघिल्लो दिन त्योभन्दा बढी अर्थात ४० हजार ५ सय ६७ जना कोरोनभाइरसबाट सङ्क्रमण मुक्त भएका थिए ।
– एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्