विराटनगरमा आकाशे पुल निर्माण : जग्गाधनीको विरोधका कारण अनिश्चित

विराटनगरमा आकाशे पुल निर्माण : जग्गाधनीको विरोधका कारण अनिश्चित

विराटनगर। विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुलको काम अनिश्चित जस्तै भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा निर्माण शिलान्यास गरिएको आकाशे पुल निर्माणको काम विराटनगरवासीका लागि ‘सम्झने पानी छम्किने’ बोलको गीत जस्तै बनेको हो ।

गत चैतमा पुलको शिलन्यास गरिएको थियो । महानगरपालिका भित्र यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि भन्दै तीनवटा आकाशे पुल बनाउने योजना अगाडी सारिएको थियो ।
विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीमोडको घाँस चौकमा निर्माण गरिने पुलको शिलान्यास गरिएपछि अहिले स्थानीयले निर्माण गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् । तीन स्थानमध्ये घाँसचौकमा निर्माण गर्ने भनिएको पुल प्रदेश सरकारको खर्चमा बन्ने तय भएको थियो । घाँसचौकबाट त्यसलाई सारेर बसपार्कमा निर्माण गर्ने योजना थियो ।

तर, घाँसचौकका लागि बनाएको डिजाईनले काम नगर्ने भएपछि बसपार्क दक्षिण पाँञ्चाली र मोरङ क्याम्पस जाने मोडमा बनाउने तय भएको थियो । त्यहाँ स्थानीयले बनाउन नदिने भएका छन् । त्यस बाहेक कन्चनबारीमा पनि स्थानीयले निर्माण गर्न नदिने भन्दै लिखितै दिएका छन् भने बरगाछीका स्थानीयले पनि बनाउन नहुने भनेका हुन् ।


विराटनगर महानगरपालिकाका इन्जिनियर गोपाल पोखरेलले अनिश्चित नै भन्न नमिल्ने भएपनि ढाँचा फेरबदल गरेर भएपनि बनाउन सकिने संभावना रहेको बताउनुभयो । महानगरले स्थानीयसँग छलफल नै नगरी शिलन्यास गरेको पुलको काम एकाएक रोकिएपछि अहिले सम्बन्धित जग्गा धनीसँग छलफल र परामर्श गर्ने गरि विशेष टोलि बनाएको छ । तर, यसको भित्री पाटो भने फरक रहेको एक जानकारको बुझाई छ ।
नेपाली काँग्रेसको आन्तरिक राजनीतिक कारणले समेत आकाशे पुल निर्माणलाई निष्प्रभावी बनाउन काँग्रेस भित्रकै नेताहरु लागेको जानकार बताउँछन् । ‘इन्टरनल’ राजनीति लागेको छ, सायद नै अब यो कार्यपालिकाले बनाउन सक्दैन होला ।

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लागेको भनिएको आकाशे पुल निर्माणस्थल नै टुङ्गिन सकेको छैन । दुई करोड ४७ लाख रुपैयाँको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, पाँच दशमलव पाँच मिटर उचाइको पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको दावी गरिएको थियो ।

कला विल्डरले बरगाछी र घाँस चोकको तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको बताइएको थियो । अहिले ठेकेदार कम्पनिले कतिपय फ्रेम निर्माणको काम समेत गरिसकेको थियो । तर, पुल निर्माणस्थल आसपासका नागरिकले आफ्नो घर छलिनेदेखि अन्य विविध कारण देखाउँदै आएका छन् । बसपार्क दक्षिणका लागि त जग समेत खन्न थालिएको भएपनि अवरोधका कारण रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्