मोरङको बुढिगंगा गाउँपालिका अध्यक्षमा १६ वर्षीया सुस्मिता ऋषिदेव नियुक्त

मोरङको बुढिगंगा गाउँपालिका अध्यक्षमा १६ वर्षीया सुस्मिता ऋषिदेव नियुक्त

विराटनगर । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा मोरङको बुढिगंगा गाउँपालिकामा १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको हो ।

‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने नारालाई सार्थक बनाउन बुढिगंगा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा १६ वर्षीया सुस्मिता ऋषिदेव गाउँपालिका अध्यक्षमा नियुक्ति हुनु भएको हो । राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा ऋषिदेवले मंगलबार दिनभरका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको बुढिगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिनुभयो । बालबालिकाहरूलाई स्थानीय सरकार के हो ? यसले कसरी कार्य गर्छ भन्ने अनुभूति दिलाउँदै बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने उद्देश्यले यो कार्यक्रमलाई नयाँ अभ्यासको रूपमा बाल दिवस मनाइएको छ ।


बुढिगंगा गाउँपालिकाले भदौ २८ गते सोमबार वुढीगंगा गाउँकार्यपालिकाको बैठकले राष्ट्रिय बाल दिवस मनाउने सन्दर्भमा एक दिन गाउँपालिकाको एक किशोरीलाई आर्थिक र प्रशासनिक अधिकार बहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज बिहान १० बजेको कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षकालागि छनौट भएकी बालिका ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र दिएको थियो । बालिकाले पत्र प्राप्त भए पश्चात् बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइएको थियो । पदभार ग्रहणसँगै गाउँकार्यपालिकाको बैठक राख्ने र बालबालिका सम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहजकरणमा गरिने छ ।
बालबालिका सम्बन्धी निर्णयसँगै अध्यक्षको जिम्मेवारी पाएकी बालिका नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम रहेको छ । अनुगमन पश्चात् पालिकाका कर्मचारी जनप्रतिनिधिहरू र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरी अनुगमन सम्बन्धी धारणाहरूको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत बरालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्