विराटनगरमा आकाशे पुल निर्माण : मलाई असफल बनाउन ‘प्रोजेक्ट’ रोकियो, जग्गाधनी–योजना बनाउँदै गलत मनसाय राखियो

विराटनगरमा आकाशे पुल निर्माण : मलाई असफल बनाउन ‘प्रोजेक्ट’ रोकियो, जग्गाधनी–योजना बनाउँदै गलत मनसाय राखियो

विराटनगर । गुरुयोजना र डिजाइन तयार गर्दा स्थानीय सरोकारवालासँग परामर्श नगरिएका कारण विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माणमा अवरोध भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलान्यास गरिएको आकाशे पुल निर्माणमा नेपाली काँग्रेसको आन्तरिक विवाद समेत छछल्किएपछि महानगरवासीका नाममा आएका राम्रो योजना अगाडी बढ्नेमा शंका उत्पन्न भएको हो ।

गत चैतमा पुलको शिलन्यास गरिएको आकाशे पुलको साविकस्थानमध्ये घाँस चौकलाई परिवर्तन गरेर विराटनगर बसपार्क दक्षिणतर्फको नागेश कोइरालाको जमिनमा सारिएको थियो । काँग्रेस नेता कोइरालाले एक ठाउँमा डीपीआर गरेर अर्को ठाउँमा सार्नुपर्ने कारण स्पष्ट नपारेको भन्दै आफ्नो जमिनको मुखमा आकाशे पुल निर्माण गर्न नमिल्ने भन्दै रोक्नु भएको थियो । हो, मैले रोकेको छु, औचित्य पुष्टि हुने ठाउँमा बनाउँदा सहयोग पनि गर्छु, नेपाली काँग्रेस मोरङका सचिव समेत रहनु भएका कोइरालाले भन्नुभयो–बसपार्कमा गाडीबाट झरेका यात्रु पोको बोकेर पाञ्चाली मोडमा पुगेर वारपार गर्लान् ? उहाँले मेयरले मनलाग्दी योजना बनाएर मनलाग्दी कार्यन्वयन गर्न खोज्दा समस्या भएको आरोप लगाउनुभयो । भीडभाड हुने स्थानमा आकाशे पुल निर्माण गर्नका लागि आफूले सहयोग गर्ने बताउँदै कोइरालाले जरुरी नै नपरेको ठाउँ रोज्नुपर्ने कारण बारे जान्न चाहिरहेको बताउनुभयो । बसपार्कदेखि २५० मिटर दक्षिणमा यो पुल सारिएको छ ।

यसैगरी कन्चनबारी चौकमा सुरुको डीपीआर गरिएको ठाउँमा ४ नम्बर वडाका अध्यक्ष देवेन्द्र पोखरेलको घर छेकिन्छ भन्दै विरोध भएको थियो । त्यसपछि उत्तरतर्फ सारेर बनाउने तयारी गरिएको थियो । तर, त्यहाँ समेत नेपाली काँग्रेसका प्रदेशसभा सदस्य चुमनारायण तबदारले आफ्नो जमिनमा मात्रै पर्ने भन्दै विरोध गर्नु भएको थियो । आकाशे पुलको योजना सफल पार्ने मेरो पनि भूमिका हुन्छ तर चौबाटो घेरेर बनाउनु पर्छ, काँग्रेस नेता एवं प्रदेशसभा सदस्य तबदारले भन्नुभयो–मेरो संरचना र जमिन छेक्ने गरि मात्रै बनाउन अफ्ठ्यारो छ । उहाँले पूर्वतर्फ ठूलो मिल, पश्चिमतर्फ नोबेल मेडिकल जाने सडक, उत्तर–दक्षिणतर्फ कोशी राजमार्ग हुने गरि चोकमै बनाउनुपर्ने सुझाव दिनुभयो । तबदारले सुरुमै डिजाईन बनाउँदा आफूहरुलाई नसोधिएकोमा गुनासो गर्दै भन्नुभयो–आफैंले बनाएको डिजाईन परिवर्तन गरेर त्यसलाई सच्याउने र सानो बनाउन सकिन्छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आकाशे पुल निर्माणको योजनालाई सफल बनाउन लबिङ सुरु गर्नु भएको छ । यस बारेको भ्रम चिर्नका लागि यथार्थ जानकारी गराउने काम सुरु गरेको छु, मेयर पराजुलीले भन्नुभयो–प्रोजेक्ट छेकेर मलाई असफल बनाउने काम भईरहेको छ । मेयर पराजुलीले आकाशे पुल विराटनगरका लागि आवश्यक रहेकोले यसलाई सफल बनाउन महानगरवासीले सहयोग गर्नुपर्ने र अवरोध उत्पन्न हुने अवस्थामा दवाव सिर्जना गरिदिनुपर्ने बताउनुभयो ।

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लागेको भनिएको आकाशे पुल निर्माणस्थल नै टुङ्गिन सकेको छैन । दुई करोड ४७ लाख रुपैयाँको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, पाँच दशमलव पाँच मिटर उचाइको पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको दावी गरिएको थियो ।
कला विल्डरले बरगाछी र घाँस चोकको तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको बताइएको थियो । अहिले ठेकेदार कम्पनिले कतिपय फ्रेम निर्माणको काम थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्