दुई तिहाई मतसहित निर्वाचन जित्ने रुसी सत्तारुढ दलको दावी

दुई तिहाई मतसहित निर्वाचन जित्ने रुसी सत्तारुढ दलको दावी

मस्को ।

रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो ।

सत्तारुढ दलका महासचिव आन्द्रेइ तुर्चाकले कुल ४ सय ५० मध्ये ३ सय १५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताउनुभयो ।

रूसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो । निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न भएको पनि उहाँले दावी गर्नुभयो ।

विदेशी सञ्चार माध्यमहरूले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले नै यस पटकको संसदीय निर्वाचन जित्ने उल्लेख गरेका छन् । निर्वाचनपछि मतदाताहरुसँग गरिएको सर्वेक्षणले सत्तारुढ दलले नै जित हासिल गर्ने देखाएको हो ।

धाँधली भएको आरोप लगाउनेहरुले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् । उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् ।

पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्नसमेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ । जेलमा रहनुभएका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो ।

कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो ।
रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरु भने नभएको जनाइएको छ । विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरुलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ ।
– एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्