३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दाको अन्तिम बहस आजदेखि मोरङ अदालतमा

३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दाको अन्तिम बहस आजदेखि मोरङ अदालतमा

विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ ।

तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको अन्तिम किनाराको प्रक्रिया आईतबारदेखि जिल्ला अदालत मोरङमा सुरु भएको हो ।
प्रकरणमा उच्च प्रहरी अधिकारीसमेतको संलग्नता देखिएपछि करिब ४ वर्षअघि मुलुकभर चर्चा बनेको सुन तस्करीको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ ।

७७ जना प्रतिवादी रहेको मुद्दामा पहिलो दिन आज सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिनुभयो । यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । लामो समयदेखि विचाराधीन रहेर फैसलाको चरणमा पुगेको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच बहस हुने जानकारी दिनुभयो ।

मुद्दाको किनारा दसैंअघि नै लगाउने तयारी अदालतले गरेको छ । वादी नेपाल सरकारका तर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले गर्नुहुनेछ । जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेल लगायतले सरकारका तर्फबाट बहस हुनेछ ।

सुरुवाती चरणमा कडा अनुसन्धानको कदम चालेको सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आज र भोलि गरेर दुई दिनको समय छुट्याइएको छ । मुद्दामा प्रतिवादी बनाइएका अधिकांश उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् ।

पूर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दाको मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । उनको समूहले दुवईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्याएपछि गायब बनाइएको थियो । अहिलेसम्म फेला नपरेको सुन गायब बनाएर पचाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो ।

शाक्यमाथि करेन्ट लगाएर चरम यातना दिएको दर्दनाक भिडियो नै सार्वजनिक भएको थियो । शाक्यको हत्या हुँदा उनीमाथि करेन्ट लगाइरहेको प्रष्टसँग देख्न सकिन्छ । घटनामा प्रत्यक्ष संलग्न बनेका गोरे भने शाक्यको हत्यापछि फरार बने । त्यतिबेला प्रहरीकै ‘सेटिङ’मा उनलाई भगाइएको आरोप पनि लाग्दै आएको छ ।
हत्या गरेपछि शव धरान लगेर एक रात लुकाइएको थियो । त्यसको भोलिपल्ट अर्थात फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद गरेको हो । प्रहरीले शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कारपियो र मे १ च ५३९८ नम्बरको कारसहित त्यतिबेला चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो ।

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका गोरेलाई भने कठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते उपस्थित गराइएपछि मोरङ अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतलाई पनि प्रतिवादी बनाइएको थियो । खत्री र राउत अहिलेसम्म थुनामै छन् । अरु भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् ।

शाक्य हत्या र सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो । गोरेको योजना र अरु व्यापारीको लगानीमा दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्