मणिराम दाहाल
सुन्दरहरैँचा । प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले हरेक राष्ट्रको विकास र समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको बताउँनु भएको छ।
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित गाेठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको तेह्राैँ दीक्षान्त समारोहकाे अवसरमा मन्यव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाललाई हरेक नागरिकले आफ्नो श्रम, सीप, बुद्धि र विवेकको भरपूर उपयोग गर्ने अवसरको भूमि बनाउनु पर्ने बताउँनु भयाे । उहाँले पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापनाको करिब तीन दशकको अवधिमा नेपालको विकास र समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य योगदान पु-याउन सफल भएकोमा बधाई दिन चाहेकाे बताउँनु भयाे । प्रधानमन्त्री ओलीले आगामी दिनमा समेत गुणस्तरीय तथा उच्च शिक्षाका साथै विश्वविद्यालयको संस्थागत सुशासन ,सुधारका लागि समर्पित हुन सबैलाई उत्प्रेरणा र उत्साह प्राप्त भइरहोस् भन्ने कामना गर्नुभयाे ।
उहाँले दीक्षित भएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै आजको दिन केवल तपाईंहरूको मात्र गौरव एवं खुशीको दिन नभई अभिभावक, गुरूजन र समस्त नेपालीको लागि गौरव र खुशीको दिन भएको उल्लेख गर्नुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे `` निरन्तर रूपमा गर्नुभएको कठिन मिहिनेत र लगनशीलताका कारण यो महत्त्वपूर्ण सफलता हासिल गर्नुभएको छ। यो उपलब्धि नवीन यात्राको आरम्भ हो। आफूले प्राप्त गरेको शिक्षा र सीपका आधारमा नेपाललाई समृद्धिको शिखरमा पुऱ्याउने अभियानको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी अब तपाईंहरूका काँधमा आएको छ´´।
प्रधानमन्त्री ओलीले समारोहलाई थप सम्बाेधन गर्दै भन्नुभयाे ``नेपाल केवल एउटा भूगोलमात्र होइन । यो हाम्रो पहिचान,गौरव अनि अस्तित्व हो। यो मुलुकलाई स्वाधीन बनाउन हाम्रा पुर्खाहरूले कठिन सङ्घर्ष गरे। हामी तिनै वीरहरूका सन्तान हौ। जसले कहिल्यै पराधीनता स्वीकार गरेनन्। नयाँ पुस्ताले इतिहासको गौरवगाथाको जगमा उभिएर समृद्ध नेपालको मार्गचित्र कोर्नुपर्ने बेला आएको छ। इतिहासमा हाम्रो वीरतालाई मनन गर्दै एकताका साथ नेपालको समुन्नति अनि नेपालीहरूको सुन्दर भविष्यका लागि खास केही गरेर देखाउनु पर्ने समय आएको छ।
वास्तवमा हामी परिवर्तनको सङ्घारमा छौं। यतिवेला वैज्ञानिक आविष्कार र अत्याधुनिक सूचना प्रविधिले संसारलाई एउटा साँघुरो घेराभित्र कैद गरिरहेको छ। यस सन्दर्भमा हामीले आफूलाई समयसापेक्ष बनाउन सकेनौं भने अरूको पछि दौडिरहनुपर्ने बाध्यता हुन जान्छ ´´।
प्रधानमन्त्री ओलीले अबको नेपाल पुरातन सोच र मानसिकतामा अड्किएर बस्ने नेपाल पक्कै नभएको उल्लेख गर्नु भएकोमा छ। उहाँले समुन्नत समाज र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि नवीनतम् सोच र उद्यमशीलताको विकास गर्न जरुरी रहेको बताउँनु भयाे। उहाँले भन्नुभयाे ``अब हाम्रा युवा विद्यार्थीहरूलाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमीको भूमिकामा उभ्याउन अभिप्रेरित गर्नुपर्छ। आफूले प्राप्त गरेको ज्ञान अनि विवेकको सही उपयोग भयो भने नेपाललाई सबल र समृद्धशील राष्ट्र बनाउन सक्छौ। 'समृद्ध नेपाल, सुखी नेपाली' केवल नारामा सीमित रहने कुरा होइन, यो राष्ट्रिय सङ्कल्प हो´´।
प्रधानमन्त्री ओलीले नेपाल सरकारले उच्च शिक्षालाई गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्वपूर्ण कदम चालिरहेको जानकारी गराउँनु भयाे ।उहाँले विश्वविद्यालयहरू नवीनतम् प्रविधि, अनुसन्धान र नवीन कार्ययोजनाको केन्द्र बन्नुपर्छ भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयाे । विश्वविद्यालय ज्ञानको केन्द्र तथा सिर्जनशील सोचको स्रोत साथै राष्ट्रको भविष्य निर्माण गर्ने कारखाना भएको उहाँको भनाइ रहेको थियाे । उहाँले जस्तोसुकै चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न जरूरी रहेको उल्लेख गर्दै नेपालको उच्च शिक्षालाई थप व्यावहारिक, सीपमूलक तथा रोजगारमूलक बनाउन विश्वविद्यालयहरूको संरचनागत सुधार आवश्यक रहेको धारण राख्नुभयाे । प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूले अनुसन्धानको दायरा फराकिलो बनाउँदै उद्योग तथा शिक्षालाई जोड्ने पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पूर्वाञ्चल विश्वविद्यालय केवल एउटा शैक्षिक संस्थान मात्र नभएर नवीनतम् खोज, अनुसन्धान र राष्ट्रिय विकासमा योगदान दिने संस्थान बन्नुपर्छ भन्ने मान्यता रहेको बताउँनु भयाे । उहाँले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट ज्ञान केन्द्र बनाउन प्रयत्नशील हुने बेला आएकाेले सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सबैको सक्रिय भूमिकाको अपेक्षा गरेको बताउँनु भयाे ।
प्रधानमन्त्री ओलीले हाम्रो स्पष्ट लक्ष्य अब नेपाल आत्मनिर्भर र प्रविधिमा सक्षम राष्ट्र बनाउनु रहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे 'हाम्रो यात्रा सङ्घर्षको होइन,निर्माणको हाे। नेपाललाई श्रम बेच्ने होइन सीप, खोज, अनुसन्धान र आविष्कार बेच्ने देश बनाउन प्रयत्नशील हुनुपर्छ । नवीनतम् खोज, आविष्कार र उद्यमशीलताको नेपाल बनाउने सङ्कल्पका साथ अधि बढ्नुपर्छ। किनभने समृद्ध नेपालको निर्माण हाम्रै हातमा छ।'
प्रधानमन्त्रीले समारोहकाे सन्दर्भमा विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नेपाल सरकारका तर्फबाट सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे । साथै पूर्वाञ्चल विश्वविद्यालय ऐनमा समयानुकुल परिमार्जन एवं संसोधनका लागि समेत नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने उल्लेख गर्नुभयाे ।
गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा मेडिकल कलेज सञ्चालन गरी यसबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने यस क्षेत्रका नागरिकहरूको आकाङ्क्षा नेपाल सरकारको जानकारीमा रहेको प्रधानमन्त्री ओली जानकारी गराउँनु भयाे । उहाँले मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रको वासिन्दाहरूलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल सरकारका तर्फबाट निरन्तर रूपमा पहल र प्रयत्न भइरहेको समेत स्मरण गराउँनु भयाे । पूर्वाञ्चल विश्वविद्यालयले खासगरी जलवायु परिवर्तन, जैविक विविधताको अनुसन्धान् प्राकृतिक स्रोतसाधन र परम्परागत ज्ञानसीपको संवर्धन गर्दै कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत विशेष योगदान पुऱ्याउन सक्ने उहाँको धारण रहेको थियाे । विश्वविद्यालयले विद्यार्थीहरूका लागि जीवनोपयोगी र आत्मनिर्भर बनाउन सक्ने शिक्षा प्रणालीको विकास गर्दै मौलिक एवं रैथाने बालीहरूका बारेमा नवीनतम् खोज, अनुसन्धानका साथै कृषि उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि समेत महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने विश्वास लागेकाे उहाँले बताउनु भयाे ।
प्रधानमन्त्री ओलीले उत्कृष्टता हासिल गरेर विभिन्न पदक प्राप्त गर्न सफल १७ जना विद्यार्थीलाई बधाई ज्ञापन गर्दै दीक्षित भएका ८ हजार १ सय ५० जना विद्यार्थीहरूलाई आफूले प्राप्त गरेको ज्ञानले दैनिक व्यबहार र व्यावसायिक जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन सकोस् भन्ने कामना गर्नुभयाे । पियूकाे तेह्रौँ दीक्षान्त समारोहकाे अवसरमा यहाँ शैक्षिक भवनकाे प्रधानमन्त्री ओलीले उदघाटन समेत गर्नुभयाे । समारोहमा डा. गाैरीशंकर लाल दासले दीक्षान्त अभिभाषण प्रस्तुत गर्नुभयाे। प्रा.डा. बिजुकुमार थपलियाले मन्तव्य राख्नु भएको थियाे।