उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशङका

उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशङका

विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ ।

आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनी हाल भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले २ वर्ष अघिदेखि लगानी गरेका थिए । उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गरेको बताईएको छ ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्दै आएका लामा आईतबार बिहान मात्रै विराटनगर आएका थिए । प्रहरीका अनुसार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि दुई जना युवाहरुले एक्कासी खुकुरीले आक्रमण गरेका हुन् । खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना छुट्याउँदा उनको पनि शरीर र कपडामा रगत लागेको छ । सरदारले दुई जनाको संख्यामा रहेका युवाले खुकुरीले प्रहार गरेको बताए ।

लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवादले आज सो घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार यसअघि उद्योगका सञ्चालक मोरङको नोचाका मोहम्मद साजित थिए । उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए । पछि आधाआधा शेयर रहेको उद्योग नै साजितले ५ वर्षका लागि लामालाई लिजमा दिएका थिए । त्यसबापत साजितलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो ।

तर, पछिल्लो समय साजितले लामालाई उद्योेगबाट निकालेर उनको नाममा रहेको शेयर हडप्न र एकलौटी रुपले उद्योग सञ्चालन गर्न विभिन्न षडयन्त्र गरिरहेको थाहा पाएपछि दुईजना बिच विवाद उत्पन्न भएको थियो । आईतबार इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको प्रहरीको दाबी छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले घटनामा सजितको योजना वा संलग्नता छ/ छैन भन्ने बारेमा खुल्न बाँकी रहेको बताएका छन् । घटनापछि साजित सम्पर्कविहिन रहेको उनले जानकारी दिएका छन् । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय बिमल कार्की भने पक्राउ परेको प्रहरीले जनाएको छ । कार्कीलाई घटनामा प्रयोग भएको खुकुरी सहित भाग्दै गरेको अवस्थामा कोशी अस्पताल नजिकैबाट पक्राउ गरिएको हो ।

घटनामा संलग्न भनिएका अर्का एक युवा भने फरार छन् । पहिचान खुल्न बाँकी रहेकाले ती युवाको खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्