भारतमा कोभिडका थप २२ हजार ५ सय भन्दा बढी सङ्क्रमित

भारतमा कोभिडका थप २२ हजार ५ सय  भन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली।

भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २ सय ४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८ सय १७ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८ सय ४२ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारी अनुसार एक दिनमा २४ हजार ३ सय ५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । हिजो एकै दिनमा केरलामा १३ हजार २ सय १७ जना नयाँ सङ्क्रमित थपिए भने १ सय २१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५ सय ५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या भन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । शनिबार दिनभर २२ हजार ८ सय ४२ सङ्क्रमित हुँदा २५ हजार ९ सय ३० जना सङ्क्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमण मुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५ सय २९ रहेको अधिकारीले जनाएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार कोरोना शुरु भएदेखि हालसम्म भारतमा ५७ करोड ३२ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ ।
– एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्