भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम

नयाँ दिल्ली।

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २ सय १४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । अघिल्लो दिन १९ हजार ७ सय ४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १ सय ६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३० हजार ९ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६ सय ४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण २ सय ८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाको कारण मृत्यु हुने चार लाख ५० हजार ५ सय ८९ जना पुगेको छ ।भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमण मुक्त भएकाको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या २३ हजार ६ सय २४ रहेको छ । भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ७१ हजार ९१५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । भारतका हिजो एकै दिनमा ६६ लाख ८५ हजार ४ सय १५ डोज कोरोना विरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ९४ करोड भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन् ।
-एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्