प्रहरीको दशैं : लाहुरेलाई चाडबाड नआएकै जाती

प्रहरीको दशैं : लाहुरेलाई चाडबाड नआएकै जाती

विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको दशैंले अहिले सबैलाई छपक्कै छोएको छ । नेपालीहरु दशैं लक्षित किनमेल र पुजापाठमा जुटिसकेका छन् । दशैमा के गर्ने, कहाँ जाने र समय कसरी व्यतित गर्ने लगायतका योजना समेत धेरैले बनाईसकेका छन् । कतिपय नेपालीहरु त दशैं मनाउनकै लागि आ–आफ्नो घर समेत लागिसकेका छन् ।

तर, हाम्रो समाजमा केही यस्ता पात्रहरु पनि छन्, जसलाई न दशैं, न तिहार, न छठपर्व, कुनै चाडपर्वले छुँदैन । पेशागत जिम्मेवारी र दायित्व निर्वाहमा हरेक चाडपर्व बित्ने गर्छ । ती हुन, शान्ति, सुरक्षा र अमनचयनको प्रमुख जिम्मेवारी पाएका सुरक्षाकर्मीहरु ।

‘लाहुरेलाई चाडबाड नआएकै जाती,
परिवारको सम्झनाले जल्दो रहेछ छाती’

हो, नेपाली प्रसिद्ध गायक कर्ण दासको यो गीतले चाडपर्वमा सुरक्षाकर्मीको पिडा बयान गर्छ । दिनरात नभनी अहोरात्र ड्युटीमा खटिने सुरक्षाकर्मीहरुलाई चाडपर्व चाडपर्व जस्तो लाग्दैन् । काँधमा भएको जिम्मेवारी र दायित्वले चाडपर्वमा घरपरिवार सम्झन दिँदैनन् । त्यस्ता भाग्यमानी सुरक्षाकर्मीहरु पनि थोरै छन्, जसले दशैं तिहारमा घर फर्किने सौभाग्य पाउँछन् । अन्यथा धेरैले ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुशी साटदै दशैंमा रम्ने प्रयास गर्छन् । घरपरिवारको सम्झना सहकर्मीहरुसँग साट्न खोज्छन् । चाडपर्वमा बिशेषमा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षाकर्मीहरुको भुमिका महत्वपुर्ण हुन्छ ।

आवर विराटनगरसँग कुरा गर्दै मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसी कर्ण दासले गाएको ठ्याक्कै यही गीत सम्झन्छन्, अनि भन्छन्, ‘पहिले आफुलाई मात्र हेरिन्थ्यो । अहिले सबैलाई हेर्नुपर्छ । जिम्मेवारी र दायित्वबोध भएपछि चाडपर्वको महत्व कम लाग्ने रहेछ ।’

चाडपर्वमा सर्वसाधारणको सुरक्षार्थ खट्दै हरेक चाडपर्व बित्ने गरेको उनको अनुभव छ । जनतालाई ३६५ दिन नै शान्ति, सुरक्षा प्रदान गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएकाले दशैं, तिहार लगायतका चाडपर्वमा कार्यभार झन थपिने गरेको उनी बताउँछन् । २०५४ सालदेखि प्रहरी सेवामा लागेका उनी अहिले दशैंमा घर परिवार सम्झदैनन् । कार्यव्यस्तताले त्यो फुर्सद दिँदैन् । ‘पहिले बुवाआमा हुँदा दशैंको टिकाको लागि जसरी पनि घर पुग्थे । मिसनमा हुँदा पनि लामो खर्च गरेर घर आइन्थ्यो’, उनी भन्छन्, ‘बुवाआमा बितेपछि अहिले दशैं/तिहारको खासै महत्व लाग्दैन् । यद्यपि दशैं भने रमाईलो नै हुन्छ ।’

कार्यालयका कर्मचारी र अन्य सहकर्मीहरुले दशैंमा एकाअर्कालाई परिवारको कमी महशुस हुन दिँदैनन् । झन अहिले प्रविधिले गर्दा परिवारका सदस्यहरुसँग भिडियो कल मार्फत् नै कुराकानी हुने भएकाले पनि अलि सहज भएको एसपी जिसी बताउँछन् । उनी भन्छन्, ‘द्वन्दकालमा ३ वर्षसम्म घर गएको थिईन । सम्झन लायक पिडा त्यो एउटा मात्र छ ।’

हरेक वर्ष झैं यसवर्ष पनि कार्यालयका कर्मचारी र प्रहरी साथीहरुसँगै दशैं मनाउने तयारी रहेको एसपी जिसीले बताए । फुलपातीका दिन संयुक्त रुपमा खाना खाने तथा शुभकामना आदानप्रदान गर्ने र टीकाको दिन इच्छुक कैदीबन्दीहरु सहित संयुक्त टीका लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

दशैं/तिहार लगायतका चाडबाडमा सुरक्षा चुनौतीहरु बढ्ने भएकाले प्रहरीको जिम्मेवारी पनि थपिन्छ । सुरक्षा योजना कार्यान्वयनका साथै अपराध अनुसन्धानमा समेत सक्रिय रहनुपर्ने भएकाले चाडबाडमा प्रहरीलाई भ्यानभ्याई हुन्छ । चाडबाडमा बिदा बस्ने कल्पनै गर्न नसकिने मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ बताउँछन् । बिदामा जाँदा आफ्नो एरियामा कतै केही भईहाल्छ कि भन्ने चिन्ताले सताउँछ’, उनी भन्छन्, ‘आम नागरिकले सुरक्षित रुपले चाडबाड मनाउन पाउँदा हामी आफै सन्तुष्ट हुन्छौं ।’

चाडपर्वकै बेला चोरी डकैती र अपराधका गतिविधिहरु बढ्ने भएकाले सबै सुरक्षाकर्मीहरुको चाडबाड कार्यक्षेत्रमै बित्ने गरेको छ । जनताको सुरक्षार्थ खटिने प्रहरी जवानहरुको पिडा शब्दमा वर्णन गरिसाध्य नरहेको मोरङका डिएसपी श्रेष्ठको भनाई छ । ‘मानिसहरु टिका र जमरा लाएर हिँडडुल गर्दा मन कटक्क खान्छ’, उनले भने, ‘तर, अहिले त बानी परिसकेको छ । बुबाआमाले पनि छोरा राष्ट्रसेवामा छ भन्ने बुझ्नुभएको छ ।’

प्रहरीहरु अन्य क्षेत्रका कर्मचारीहरु जस्तो भन्ने बित्तिकै बिदा पाउँदैनन् । चाडबाडमा सुरक्षा चुनौती थपिने भएकाले आकस्मिक बाहेकको अवस्था बिदा पाईंदैन् । सुत्केरी र किरिया बिदा पनि मुश्किलले पाईन्छ । प्रहरी सेवामा भैपरी आउने बिदा महिनाको ४/वर्षको १२, महिलाहरुको हकमा सुत्केरी बिदा ९८, सुत्केरी स्याहार बिदा १५, किरिया बिदा १५, घर बिदा ३० र बिरामी बिदा ३० दिन पाउने व्यवस्था छ । तर, चाडबाडमा बिदा पाउने अवस्था रहँदैन् । ड्युटीमा खटिएका एक प्रहरी जवानले भने, ‘बिदा नमाग्नु भनेर पहिले नै आदेश आईसकेको हुन्छ ।’

चाडबाडमा आन्तरिक व्यवस्थापन र सेड्युल मिलाएर मात्र बिदा बस्ने गरिएको विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ का डिएसपी दीपक कार्की बताउँछन् । प्रहरी सेवामा समर्पित भएको २० वर्ष बितिसक्दा धेरै तितामिठा अनुभवहरु उनले बटुलेका छन् । यद्यपि प्रहरी नै परिवार हुनेहरुका लागि चाडबाड खल्लो नहुने गरेको उनको तर्क छ । प्रहरी जवानहरुबाट बिदाको माग बढी हुने गरेको बताउँदै उनले सेड्युल मिलाएर व्यवस्थापन गरिने गरिएको उनी जिकिर गर्छन् । प्रहरी संगठनको मेरुदण्ड भनेकै तल्लो तहका जवानहरु भएकाले उनीहरुको मनोबल उच्च बनाईराख्न पनि सेड्युल मिलाएर बिदा मिलाईदिने गरेको उनको भनाई छ । ‘हामीलाई त ड्यूटी गर्दागर्दै समय बितेको पत्तो हुँदैन’, उनले भने, ‘कार्यालय प्रमुख भएकाले हामीले बिदा पनि लिन मिल्दैन ।’

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका घर भएका कार्की पनि आफ्नो जिम्मेवारीका अगाडि चाडपर्वलाई कम महत्व दिन्छन् । प्रहरी कार्यालयमै दशैं मनाउँदै खुसी साटासाट गर्ने गरेको सुनाउँदै उनी प्रहरी आबद्धताभन्दा अगाडिको दशैं र अहिलेको दशैं फरक भएको सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्