बाढीले तरकारी खेति डुबाएपछि विराटनगरमा हरियो तरकारी अभाव हुने अनुमान, मूल्य आकासियो

बाढीले तरकारी खेति डुबाएपछि विराटनगरमा हरियो तरकारी अभाव हुने अनुमान, मूल्य आकासियो

विराटनगर । पछिल्लो समयको वर्षातले तराई क्षेत्रमा उत्पादन भईरहेकोे हरियो तरकारी डुबाएर नष्ट गरिदिएपछि मूल्य आकासिएको छ । विराटनगरमा दैनिक खपतका लागि आवश्यक हरियो तरकारीको अभाव समेत हुने अनुमान गरिएको छ ।

वर्षापछि हरियो तरकारीमा पहाडी क्षेत्रको मात्रै भर पर्नुपर्ने स्थिति आएको हो । तराईका जिल्लामा उत्पादन भई विराटनगरस्थित फलफूल तथा तरकारी सब्जिमण्डिले खरिद गर्ने तरकारी आउनै छोडेको छ । पछिल्लो चारदिन भित्र टमाटरको थोक मूल्य एकसय रुपिँया प्रतिकेजी, रायो साग ८० रुपिँया, कोभी–९०, करेला–८०, भिण्डी–७०, बोडी–१०० रुपिँया प्रतिकेजी पुगेको छ । हरियो तरकारी थोक बिक्रेता गौरीशंकर भगतका अनुसार पछिल्लो चारदिनयता ३० रुपिँया प्रतिकेजीको भिण्डीको मूल्य ७० रुपिँया, ५० रुपिँया प्रतिकेजी करेलाको मूल्य ८० रुपिँया पुगेको हो । होलसेल मूल्यमा खरिद गरेका खुद्रा बिक्रेताले प्रतिकेजी २० रुपिँयासम्म मूल्य बृद्धि गर्नेछन् ।

तराईका जिल्लामा उत्पादन भएको तरकारी नष्ट भएपछि अब पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीको भर पर्नुपर्ने अवस्था आएको भगतको भनाई छ । अहिले पहाडी क्षेत्रमा सिजन रहेकोले क्षतिबाट बचेको तकारीले मूल्य राम्रो पाउने व्यापारीहरुको भनाई छ । कम्तिमा पनि एक महिनाका लागि साग, दुई महिनाका लागि बोडी र करेला लगायतको तरकारीको अभाव पहाडले थेग्न नसक्ने भएपछि अभाव हुने अनुमान समेत गरिएको छ । विराटनगरमा दैनिक २० टन तरकारीको खपत हुने गरेको छ ।

वर्षासँगै आएको बाढीले विराटनगर–११ स्थित नयाँ गुद्रीमा ५० लाख मूल्य बढीको आलु गोदाममै कुहिएको छ । तरकारीका होलसेल व्यापारी पशुपति भगतसहित अन्य व्यापारीको गोदाममा बाढी पसेका कारण आलु र प्याजमा समेत क्षति पुगेको हो ।
फलफूल तथा तरकारी सब्जिमण्डि सञ्चालक समितिका सचिव अहमत साहेब गुड्डुले भारतको महाराष्ट्रमा आएको चक्रबात र नेपालमा कार्तिकमा परेको वर्षात्ले सबै तरकारीको मूल्यमा आगो लाग्ने दावी गर्नुभयो । आलु र प्याजसँगै हरियो तरकारीको मूल्यमा आगो लाग्छ, सचिव गुड्डुको भनाई थियो–अभाव हुने आशंका बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्