कुम्भकर्ण आरोहण वर्षाका कारण असफल

कुम्भकर्ण आरोहण वर्षाका कारण असफल

चन्द्र पन्दाक/गाेरखापत्र
ताप्लेजुङ । गतसाता भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण असफल भएको छ । निरन्तरको वर्षासँगै हिमपात भएपछि नेपालको १४ औं अग्लो हिमाल कुम्भकर्णको आरोहण असफल भएको हो ।

कञ्चनजङ्घा रेन्ज (क्षेत्र)अन्तर्गत रहेको कुम्भकर्ण हिमाल (७,७१० मिटर) हिमाल आरोहण गर्न गएका दुईजना अमेरिकी आरोहीसहितको टोली एक महिना बढी समय आधार शिविरमा बसेर फर्किएको छ । चार दिनसम्मको अविरल वर्षापछि बाक्लो हिमपात भएका कारण कुम्भकर्ण आरोहण असम्भव भएपछि आरोही टोली फर्किएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालयले जाननकारी दिएको छ ।
परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार असोज ९ गते नै उक्त आरोहण टोली कुम्भकर्ण हिमालको आधार शिविर पुगेको थियो । आधार शिविर पुगेपछि कुम्भकर्ण आरोहणको तयारी गरिरहेका बेला बीचैमा बेमौसमी वर्षा भएको र वर्षासँगै हिमपात भएपछि आरोहण असफल भएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार वर्षा रोकिएपछि पनि अनुकुल समयको पर्खाइमा बस्दासमेत सम्भव नभएपछि आरोहण टोली बिहीबार आधार शिविरबाट फर्किएको छ ।

हालको मौसममा दुईजना अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार कोभिड–१९ महामारीका पछिल्लो दुई वर्षयता कुम्भकर्ण आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । यसवर्ष महामारी केही कम भएपछि पर्यटन विभागले अनुमति खुल्ला गरेको र आरोहणमा गएको टोली भने प्रतिकुल मौसमका कारण महिनौ प्रयास गर्दा असफल भई फर्केको परिषद् कार्यालयले जनाएको छ ।

तस्बिर:फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्