विराटनगर । विराटनगरमा सरसफाइप्रति स्थानीयको चेतना र जिम्मेवारीबोध कति छ भन्ने कुरा पछिल्लो दृश्यले प्रस्ट पारेको छ। लामो समयसम्म नहर सफा नभएको भन्दै पटक–पटक स्थानीयले सरकारको आलोचना गर्दै आएका थिए। तर, सरसफाइ गरिएको एक हप्ता नबित्दै पुनः नहरमा फोहोर थुप्रिन थालेपछि स्थानीयको व्यवहारमाथि नै प्रश्न उठ्न थालेको हो ।
छठ पर्वलाई लक्षित गर्दै मोरङ–सुनसरी सिँचाइ आयोजनाले विराटनगरको खारजी देखि करिब १० किलोमिटर नहर सफा गरेको थियो। नहरमा थुप्रिएको फोहोर डोजरको सहायताले ट्र्याक्टरमा उठाएर सहरबाहिर व्यवस्थापन गरिएको थियो। विशेषगरी छठ पर्वअघि नहर सफा गरिएको भए पनि पर्व सकिएको एक हप्ता नबित्दै नहरमा पुनः फोहोर फाल्न थालिएको छ।
अहिले नहरमा छठ पर्वमा प्रयोग गरिएका केराका गाछी तथा घरायसी फोहोरहरू जथाभावी फालिएका छन्। यसरी सार्वजनिक नहरमा फोहोर फाल्ने काम बाहिरका व्यक्तिभन्दा पनि नहर आसपास बसोबास गर्ने स्थानीयबाटै भएको हुन सक्ने देखिन्छ। तर, यस्तो गतिविधि भइरहँदा सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिको प्रभावकारी निगरानी नहुनुले समस्या थपिएको छ।
नहर तथा घरअगाडिको क्षेत्र सफा राख्नु स्थानीयवासीको पनि उत्तिकै दायित्व हो। फोहोरका कारण दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र आसपासका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम रहन्छ। फोहोरबाट हुने हानिबारे जानकारी हुँदाहुँदै पनि जथाभावी फोहोर फाल्ने प्रवृत्तिले सरसफाइप्रतिको जिम्मेवारीबोध र जनचेतनाको अभावलाई उजागर गरेको छ।
विराटनगर महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख अशोक गुप्ताका अनुसार छठ पर्वमा प्रयोग गरिएका सामग्री स्थानीयले जथाभावी फालेका कारण नहरमा पुनः फोहोर जम्मा भएको हो। नहरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि महानगरले सरसफाइको काम सुरु गरिसकेको उनले जानकारी दिए।
उनका अनुसार अहिले नहरमा थुप्रिएका केराका गाछी हटाउनेलगायतका फोहोर व्यवस्थापनको काम भइरहेको छ। फोहोरका कारण लामखुट्टे फैलिने र डेङ्गीको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको उनले बताए। केही दिनभित्रै नहर पूर्ण रूपमा सफा गरिसक्ने उनको भनाइ छ।
गुप्ताले सार्वजनिक नहरमा कुनै पनि प्रकारको फोहोर नफाल्न स्थानीयवासीलाई आग्रह गर्दै फोहोर फालेको पाइएमा महानगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
सार्वजनिक स्थान सफा राख्ने जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। महानगरले पटक–पटक सरसफाइ गरे पनि नागरिकले आफ्नो व्यवहारमा परिवर्तन नगरेसम्म विराटनगरलाई स्वच्छ र सफा सहर बनाउने अभियान सफल हुन कठिन देखिन्छ। त्यसैले आफ्नो घर, सडक र नहर आसपासको क्षेत्र सफा राख्नु सबैको साझा दायित्व र कर्तव्य हो।