विराटनगर। विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर, राजवंशी टोलमा ‘सामा चकेवा सांस्कृतिक उत्सव’ आयोजना हुने भएको छ। ‘आफ्नो संस्कृति, आफ्नो पहिचान–सामा चकेवा हाम्रो गौरव र सम्मान’ भन्ने मूल नाराका साथ बिराट राजवंशी सामा चकेवा महिला समूहले उत्सवको आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार आगामी मंसिर ९ गते बुधबार दिउँसो २ बजेदेखि सुरु हुने उक्त उत्सवमा सामूहिक सामा चकेवा प्रस्तुति, सामा चकेवा विशेष पूजा तथा सांस्कृतिक मनोरञ्जन कार्यक्रम समावेश गरिएका छन्।
दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, स्नेह र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाइने सामा चकेवा पर्वको मौलिक परम्परा संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको समूहले जनाएको छ। स्थानीय समुदायका महिला तथा सर्वसाधारणलाई मौलिक लोकसंस्कृति र उत्सवमा सहभागी हुन आयोजक समूहले आग्रह गरेको छ।