पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमेको पानीको आवश्यक पर्दछ । तर, पछिल्ला वर्षहरुमा जमेको पानी अभाव हुँदा खेति गर्ने किसानले थप समस्या बेहोर्नु परेको हो ।

मोरङ धनपालथान गाउँपालिका–६ बबियाविर्ताका कृषक उमालाल रायका अनुसार रेसा छुट्याउने झन्झटीलो कामका लागि पानीको सहजता समेत अभाव हुन थालेको छ । पहिले एक बिघा क्षेत्रमा जुट खेति गर्दै आउनु भएका राय अहिले विविध समस्याका कारण तीन कठ्ठामा मात्रै खेति गर्न थालेको बताउनुहुन्छ । यस पटक भने कार्तिकमा प्रशस्त पानी पर्दा जुटबाट रेसा छुट्याउन सहज भएको उहाँले बताउनुभयो ।
जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा सरकारले खेति विकासमा ध्यान नपु¥याउँदा जुट बाली क्रमशः घट्दो क्रममा रहेको बताउनुहुन्छ । किसान, मजदुर, उद्योगी तीन क्षेत्र लाभान्वित हुने, वातावरणीय दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पार्ने निकासीजन्य वस्तुको उत्पादनमा प्रोत्साहन नभएको अरिहन्त मल्टिफाइबर्सका सञ्चालक समेत रहनु भएका उद्योगी गोल्छाको गुनासो छ ।

पूर्वका तीन जिल्ला मोरङ, सुनसरी, झापामा विशेष खेति हुने जुट २० हजार हेक्टरमा उत्पादन हुँदै आएको छ । तर, पछिल्लो समय पानी अभाव हुँदै जाँदा खेति थप संकटमा परेको छ । सरकारले जुट विकास बोर्डको बिघठन गरेपछि त्यसताका खनिएका पोखरी समेत नासिएका छन् । त्यसको संरक्षण अभाव हुँदा पोखरी पुरिएकोले अहिले खेति गर्ने किसान थप समस्या रहेका हुन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका ११ जुट उद्योगमध्ये पाँचवटा मात्रै अहिले सञ्चतालित रहेका छन् । रघुपति, बाबा, अरिहन्त, नेपाल जुट र स्वास्तिक उद्योग रहेका छन् । यी उद्योगलाई आवश्यक पर्नेमध्ये ३५ प्रतिशत कच्चा मात्रै नेपालमा उत्पादन हुने गरेको जुट उद्योग संघका अध्यक्ष गोल्छाले जानकारी दिनुभयो ।

बाँकी आवश्यक कच्चामध्ये ५० प्रतिशत भारतबाट र १५ प्रतिशत बंगलादेशबाट आयात गरिदैं आएको छ । उद्योग गोल्छाका अनुसार भारत र बंगलादेशबाट आयात गरेभन्दा नेपाली जुटको मूल्य बढी छ । नेपालमा अहिले प्रतिक्विन्टल ११ हजारले जुट बिक्री हुँदै आएको छ ।
उद्योगी गोल्छाले बंगलादेशमा जुट बाली विकासका लागि जुट मन्त्रालय नै रहेको र भारतमा जुट कमिस्नर रहेको बताउनुभयो । नेपालमा जुट विकास बोर्ड बिघठन गरेपछि त्यसको प्रभाव खेतिमा परेको हो ।
जुट अनुसन्धान कार्यक्रम इटहरीका प्रमुख तिर्थ रिजालका अनुसार कृषकले दुई टन नेपाली बिउको खेति गरेका छन् । त्यस बाहेक भारतबाट आयत गरिएको बिउ प्रयोग गरिएको छ । खेति विकासका लागि किसानले रेसा छुट्याउने पानीको अभाव हुने गरेको गुनासो गर्ने गरेका प्रमुख रिजालले बताउनुभयो ।

चार दशक अगाडिको सरकारी तथ्याङ्कले मोरङमा मात्रै ६० हजार हेक्टर क्षेत्रफल जमिनमा जुट खेती भएको देखिन्छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार सरकारी प्रोत्साहन र किसानले पाउने जुटको मूल्य स्थिर नहुँदा खेति खस्कन थालेको छ । प्रविधि र उन्नत बिउ बिजनलाई प्रोत्साहन दिन सके जुट बालीको प्रशस्त संभावना रहेको प्रवक्ता उप्रेतीको बुझाई छ ।
किसानले भने जुट पाकेपछि त्यसको सन्ठीको संरक्षण गर्न चाहन्छन् । सन्ठीलाई दाउराको रुपमा प्रयोग गर्ने तराईवासीले जुट खेतिमा भईरहेको वेवास्तालाई चिन्ताको रुपमा लिन थालेका छन् । खेतिसँगै उद्योगहरु बन्द हुँदा त्यसको प्रभाव निकासीमा समेत परेको देखिन्छ ।
उद्योगी गोल्छाका अनुसार गत आर्थिक वर्ष दुई अर्बको जुटको कच्चा आयात भएको थियो । नेपालबाट चार अर्बको जुट निकासी भएको थियो । उत्पादनमध्ये ५ प्रतिशत जुटका सामाग्री मात्रै नेपालमा खपत हुने गरेको छ । नेपालमा खपत बढाउन भारतमा जस्तै खाद्यन्नको प्याकेजिङमा जुट प्रयोगलाई अनिवार्य गरिनु पर्ने उद्योगी गोल्छाको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्