विराटनगर कन्चनबारीमा १५ करोड लगानीमा खुल्यो नयाँ न्यूरो अस्पताल

विराटनगर कन्चनबारीमा १५ करोड लगानीमा खुल्यो नयाँ न्यूरो अस्पताल

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्यवस्थापनको क्षेत्रमा अनुभव प्राप्त छन् । प्रदेश सरकार मातहतको सम्बन्धनमा २५ शै्याको अस्पताल बुधबारदेखि नै सञ्चालनमा ल्याइने भएको हो ।

न्यूरो सर्जरीमा नाम कमाएका डा.पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा.अर्जना चौधरी अध्यक्ष तथा अस्पताल व्यवस्थापनमा अनुभव प्राप्त दिनेश ठाकुरको टिमले नयाँ अस्पताल सञ्चालनमा ल्याएका हुन् । अस्पतालका प्रबन्धक निर्देशक डा. नेपालले न्यूरो सर्जरीको क्षेत्रमा नयाँ आयाम थपिने गरि उपचार सेवा प्रवाह गरिने दावी गरेका छन् ।
बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने अस्पतालको बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । प्रारम्भिक रुपमा २५ शै्याबाट सञ्चालनमा ल्याइएको अस्पताललाई चाँडै ५० शै्यामा विस्तार गरिने निर्देशक डाक्टर नेपालले जानकारी दिनुभयो । विराटनगरवासी लगानी साझेदारले बिरामीलाई सहुलियत दिने पत्रकार सम्मेलनमा दावी गरेका छन् ।

विराटनगरमा टाउकोसँग सम्बन्धित जटिल शल्याक्रिया विशेष गरि न्यूरो अस्पतालमा मात्रै हुँदै आएको थियो । डा.उपेन्द्र देवकोटासँगै काम गरेर काबिल मानिएका डाक्टर नेपालले आफ्नै लगानीमा नयाँ अस्पताल खोलेपछि विरामीले थप सुविधा पाउने भएका छन् ।
काठमाण्डौंको बाँसबारी न्यूरो अस्पतालपछि झापाको बि.एण्ड.सी. अस्पतालमा न्यूरो चिफ तथा निमित्त अस्पताल डाइरेक्टरको जिम्मेवारी सम्हालेका डाक्टर नेपालले आफ्नै जन्मस्थान विराटनगरमा केहि गर्ने ईच्छा अनुसार अस्पताल खोलेको पत्रकार सम्मेलनमा बताएका छन् । उनी विराटनगर–१० तीनटोलियाका स्थायी बासिन्दा हुन् ।

अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक कान घाँटी, दन्त चिकित्सकीय सेवा, जेनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन, फिजियोथेरापी, आईसीयू तथा भेन्टिलेटर, एमआरआई तथा सिटी स्क्यान सुविधा रहने छ ।
न्यूरो सर्जरीमा काबिल मानिएका डाक्टर नेपालले टाउकोमा लाग्ने चोटबाट मृत्यु हुनेको संख्यालाई कसरी घटाउन सकिन्छ भनेर आफूले विशेष ध्यान दिदैं आएको दावी गरेका छन् । उनले टाउकोमा चोट लाग्ने बिरामीलाई समयमै अस्पतालमा भर्ना गर्नसके बचाउन सकिने दावी गरेका छन् । त्यसका लागि आफूले कन्चनबारी चौकमै अस्पताल खोल्नु परेको बताए ।

‘सेभ टाइम, सेभ ब्रेन’ डाक्टर नेपालले आफ्नो अनुभव सुनाउँदै भने, बाँसबारी न्यूरो अस्पताल मात्रै हुँदा टाउकोमा चोट लागेका बिरामीको जुन संख्यामा मृत्यु हुन्थ्यो, अहिले पछिल्लो समय त्यो कम भएको छ । कारण, टाउकोको जटिल शल्याक्रिया गर्ने अस्पतालहरु थपिएका छन् र समयमै बिरामीलाई भर्ना गर्न पाइएको छ । ब्रेन हेमरेज जस्तो जटिल समस्या भएका बिरामीलाई तत्काल अस्पताल भर्ना गर्न सक्दा सहजै बचाउन सकिने दावी डाक्टर नेपालको छ ।

अस्पतालले प्रारम्भिक चरणमा १२ जना मेडिकल अफिसर, ११ जना नर्सलाई खटाउने भएको छ । सबै क्षेत्रका गरेर एकसय जनाले रोजगारी पाएको अस्पतालका अर्का साझेदार तथा व्यवस्थापक दिनेश ठाकुरले जानकारी दिनुभयो । मेडिकल रिप्रेन्टेटीभ हुँदै विराटनगरको गोल्डेन अस्पताल व्यवस्थापनको अनुभव बटुलेका ठाकुर स्थापित युवा व्यवसायी मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्