फाइनल प्रवेश गर्न आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

फाइनल प्रवेश गर्न आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

दुबई (युएइ) । आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बिहिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । क्रिकेटका अन्य दुई संरचना टेस्ट र एकदिवसीयमा दबदबा बनाइसकेको अस्ट्रेलियाले टि२० क्रिकेटमा भने सफलताको स्वाद चाखेको छैन । पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलिया पहिलो पटक विश्वकप टि२० उपाधि जित्ने अभियानमा छ । यो सपनालाई साकार पार्न अब अस्ट्रेलिया दुई खेल मात्र टाढा छ । यद्यपि अस्ट्रेलियाले सो सपना पूरा गर्न पहिलो बाधाको रुपमा रहेको पाकिस्तानको चुनौती पार गर्नुपर्नेछ, जुन टिमले अहिलेसम्म सबै खेल आरामसँग जितेको छ । पाकिस्तान समूह २ मा पाँचै खेल जितेर र अस्ट्रेलिया समूह १ मा चार खेल जितेर अन्तिम चारमा पुगेका हुन् ।

विश्वकप टि२० को सेमिफाइनलमा पाकिस्तान पाँचौँ पटक खेल्दैछ । सन् २००९ मा विश्वकप टि२० च्याम्पियन बनेको पाकिस्तान सुरुका चार संस्करण (२००७, २००९, २०१० र २०१२) को सेमिफाइनलमा पुगेको थियो । अस्ट्रेलिया पनि यसअघि, तीन पटक सन् २००७ २०१० र २०१२ मा अन्तिम चारमा पुगेको थियो ।

टि२० मा यी दुई टिमबीच अहिलेसम्म २३ पटक भिडन्त भएको छ । जसमा पाकिस्तान १३–९ ले अगाडि छ । एक खेल नतिजाविहिन टुङ्गिएको थियो । पछिल्लो पटक सन् २०१९ को नोभेम्बरमा यी दुई टिमबीच तीन खेलको टि२० शृङ्खला भएको थियो । जसमा अस्ट्रेलिया २–० ले विजयी बनेको थियो । विश्वकप टि२० मा यी दुई टिम अहिलेसम्म ६ पटक आमुन्नेसामुन्ने भएका छन् । दुवैले तीन–तीन खेल जितेका छन् । पछिल्लो पटक सन् २०१६ मा यी दुई टिमबीच प्रतिस्पर्धा हुँदा अस्ट्रेलियाले २१ रनले खेल जितेको थियो ।

पाकिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरबाट ठूलो अपेक्षा राख्नेछ । यस प्रतियोगितामा वार्नरले ४६.७५ को औसतमा १८७ रन बनाउनुभएको छ । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल अर्का खेल जिताउनसक्ने ब्याट्सम्यान हुनुहुन्छ । अस्ट्रेलियाका लेग स्पीनर एडम जाम्पा पनि विपक्षी टिमका लागि घातक सावित हुनुभएको छ । चालू प्रतियोगितामा श्रीलङ्काका वानिन्डु हसरङ्गाले मात्र जाम्पाभन्दा बढी विकेट लिनुभएको छ । जाम्पाले एघार विकेट लिनुभएको छ । अस्ट्रेलियाका तीन तेज बलर मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सको आक्रमण पनि पाकिस्तानका लागि खतरा बन्न सक्छ ।

पाकिस्तानको सबभन्दा बलियो पक्ष प्रारम्भिक जोडी हुन् । सुरुमै ब्याटिङका लागि क्रिजमा आउने कप्तान बाबर आजम र मोहम्मद रिज्वान हुनुहुन्छ । रिज्वानले ७१.३३ को औसतमा रन बनाउनुभएको छ । चालू विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीको शीर्ष दुईमा रिज्वान र आजम नै रहनुभएको छ ।

पाकिस्तानको तेज बलिङ आत्रमणको नेतृत्व शाहिन आफ्रिदीले शानदार तरिकाले गरिरहनुभएको छ । आफ्रिदी नयाँ बल र डेथ ओभरमा पनि उत्तिकै प्रभावकारी बनिरहँदा पनि पाकिस्तानलाई सफलता मिलिरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्