जुनार उत्पादन बढ्ने भएपछि सिन्धुलीका किसान दङ्ग

<span class='c1'>जुनार उत्पादन बढ्ने भएपछि</span> <span class='c2'>सिन्धुलीका किसान दङ्ग</span>

बाबुराम देवकोटा
रतनचुरा (सिन्धुली) । गत जेठ महिनामा परेको असिनापानीले जुनारका चिचिला झर्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका– ५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलको मन अहिले शान्त बनेको छ ।

जेठ महिनामा दुई पटक असिनापानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून्य हुने भयो भनेर उहाँलाई निकै पीर परेको थियो । ‘असिनापानीबाट बँचेका चिचिला अहिले लटरम्म फल लागेको छ । असिनाले झारेको त अन्य बाली गोडेजस्तै भयो । बोटले थेग्नसक्ने मात्रै रहेकाले उत्पादन नै बढ्ने भएको छ,’ किसान रम्तेलले भन्नुभयो, ‘यो वर्ष जुनार यति राम्रो भएको छ कि बयान गरेर साध्य छैन, जुनारका बोट जुनारका दानाले भरिएको छ ।

असिनाले चिचिला झारेर बाँकी रहेका जुनार यसरी सप्रियो कि अहिले रहर लाग्दा भएको उहाँले सुनाउनुभयो । गोलन्जोर गाउपालिकाकै वडा ४ तीनकन्याका किसान बेगबहादुर आलेमगर पनि जुनार उत्पादन बढ्नेमा ढुक्क देखिनुभएको छ । यो वर्ष प्रकृतिले पनि साथ दिएको उहाँले बताउनुभयो । आलेमगरले गतवर्ष जुनार विक्रीबाट १६ लाखको हाराहारीमा आम्दानी भएको बताउनुभयो ।

सोही ठाउँका अर्का किसान जितबहादुर ठकुरीले २०३८ सालदेखि जुनार खेती गर्दै आउनुभएका ठकुरीले नौ रोपनी जमिनमा जुनारखेती गर्नुभएको छ । अहिले बगैचामा २५० बोट जुनार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘असिना पानीले हिर्काउँदा सबै जुनारका चिचिला झारेजस्तो लागेको थियो । सोचेजस्तो रहेनछ, बोटमा बसेका चिचिला अहिले राम्रो दाना लागेको छ ।’ जिल्लामा मङसिरको पहिलो सातादेखि जुनारको सिजन सुरु हुन र फागुनमा सकिने किसानहरुको भनाइ छ ।

यो वर्ष जुनार उत्पादन बढ्ने भएपछि किसानहरु उत्साहित छन् । असिनापानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाइ छ । ‘धेरै किसानले जीविकाको आधार नै जुनारखेती गरेका छन्,’ जुनार किसान ठकुरीले भन्नुभयोे, ‘सिजनमा जुनार पाकेर बँगैचा नै पँहेलपुर हुन्छ ।’ प्रायः अधिकांंश जुनारको बगैचामा यातायातको पँहुच पुगेकोले व्यापारी पनि जुनार खरिद गर्न बगैचामा पुग्ने गर्छन् । त्यसले किसानलाई जुनार बिक्री गर्न सहज हुनेगरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीले १५ देखि २० प्रतिशत जुनार उत्पादन बढ्ने अनुमान लगाउनुभयो । क्षेत्रगत किरा नियन्त्रण अभियानका कारण जुनार खेतीमा औंसा किराको प्रकोप कम हुँदै गएकाले जुनार उत्पादन पनि राम्रो हुने सङ्केत आएको उहाँले बताउनुभयो । जिल्लामा यो वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनारखेती गरिएको छ । गतवर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको थियो ।

जुनार सुपरजोनका अनुसार जिल्लामा स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनारखेती हुँदैआएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जालगायतका ठाउँ जुनारखेतीका लागि पकेट क्षेत्रका रुपमा छन् ।

सिन्धुलीमा गतवर्ष उत्पादन भएको जुनारबाट किसानहरुले झण्डै ७० करोड रुपियाँ भित्र्याएको जुनार केन्द्रीय सहकारी सङ्घले जनाएको छ । बोटबिरुवाको काँटछाटदेखि फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा सयौंको सङ्ख्यामा स्थानीय व्यक्तिले रोजगारी पाउँछन् । ‘एउटैको भन्दा पनि पालैपालो जुनार टिप्ने हुनाले मजदुरी गर्नेले काम पाउँछन्’ किसान ठकुरीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्