विराटनगर । देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भईसकेको छ । एकैपटक ४० हजार गणक खटाइएको छ । उनीहरु अहिले घरघरमा आउन थालिसकेका छन् ।
जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ ।
कात्तिक २५ देखि मंसिर ९ गतेसम्म यही प्रश्नावली लिएर गणकहरु तपाईंको घरमा आउनेछन् । जनगणनाका लागि सोधिएको प्रश्नावली भर्न गणकले २० देखि ३० मिनेटको समय लाउनेछन् । यो समयालाई नागरिकको हैसियतले धैर्यतापूर्वक दिएर राष्ट्रिय जनगणनालाई सफल र सार्थक बनाउनु पर्ने जिम्मेवारी छ । जनगणनाका लागि ८७ वटा जिल्ला जनगणना कार्यालय र ३४९ वटा जनगणना कार्यालय स्थापना गरिएको छ । धेरै जनसंख्या भएका जिल्लामा एक भन्दा बढी कार्यालय राखिएका छन् ।
काठमाडौंमा ५, झापा, मोरङ, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीमा २÷२ वटा कार्यालय स्थापना गरिएका छन् । मोरङमा दुईवटा कार्यालय रहेका छन् । विराटनगर र बेलबारीमा कार्यालय छ । जिल्लाभर एकहजार २८० जना गणक रहेको प्रदेश नम्बर १ जनगणना कार्यालय विराटनगर प्रमुख तिर्थराज बरालले जानकारी दिनुभयो ।
एक जना गणकले दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसतः १७५ परिवारको गणना गर्नेछन् ।
कस्ता छन् प्रश्नावली ?
पारिवारिक खण्ड
गणकले परिवारको मुलीको नाम, गाउँ÷टोल र सम्पर्क नम्बर माग्ने छन् । घरको स्वामित्व, जग र घर निर्माणको सामग्री, छाना र भुइँमा ओच्छ्याइएको सामग्रीको विवरण पनि संकलन गर्नेछन् । घरमा भएका विद्युतीय उपकरण, सवारी साधन तथा महिलाका नाममा घर–जग्गा भए–नभएको बारेमा पनि गणकहरुले सोध्नेछन् ।
त्यस्तै पछिल्लो एक वर्षमा मृत्यु भएका परिवारको सदस्यको विवरण, मृत्युको कारणसम्बन्धी प्रश्न पनि प्रश्नावलीमा राखिएको छ । दुर्घटना, सरुवा रोग, नसर्ने रोग, प्रजनन तथा प्रसूति समस्या, आत्महत्या, प्राकृतिक प्रकोप वा अन्य के कारणले मृत्यु भएको हो भन्ने विवरण जनगणनाका क्रममा संकलन गरिनेछ ।
घरमा खानेपानीको सुविधा, खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालयको किसिमबारे पनि गणकहरुले जानकारी माग गर्नेछन् । परिवारको पेशा, कृषि वा उद्योग व्यापार के छ भन्ने विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । उद्योग वा व्यवसाय महिला वा पुरुष कसको स्वामित्वमा छ भन्ने विवरण पनि खोजिन्छ ।
व्यक्तिगत खण्ड
यस खण्डमा गणकले परिवारका सबै सदस्यको विवरण टिप्नेछन् । परिवारमा अक्सर बसोबास गर्ने व्यक्तिको नाम र थर, घरमुलीसँग उनीहरुको सम्बन्ध, जन्ममिति र उमेर, ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको जन्म दर्ता भए–नभएको पनि टिपोट हुनेछ । जात–जाति र पूर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म, नागरिकता कुन मुलुकको छ र विवाहित वा अविवाहित के हो भन्ने बारेको विवरण समेत यो खण्डमा संकलन गरिन्छ ।
विवाह गरेकाहरुलाई कति वर्षमा विवाह गरेको, विवाहपछि विधुर÷विधवा भएको वा पारपाचुके भएको अवस्थाबारेको प्रश्नसमेत प्रश्नावलीमा समेटिएको छ ।
परिवारका सदस्यमध्ये घरमा नबस्ने (स्वदेश र विदेश) व्यक्ति, उनीहरु बसोबास गर्ने ठाउँको विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । विदेश गएका महिला वा पुरुष, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, गन्तव्य देश, विदेश गएको समय र जानुको कारण पनि गणकहरुले सोधीखोजी गर्नेछन् ।
जनगणनाका क्रममा पढ्न, लेख्न जानेको वा नजानेको, विद्यालय गएको वा नगएको, पढेको भए कुन स्तरसम्म पढेको र अध्ययनको विषय पनि संकलन गरिन्छ ।
प्रजनन् सम्बन्धी विवरण
प्रजनन् सम्बन्धी विवरण संकलन गर्दा परिवार भित्रका १५ देखि ४९ वर्षभित्रका महिलाहरुको विवरण संकलन गर्नेछ । उनीहरुले हालसम्म जन्माएका जीवित बच्चा, छोरा वा छोरी, जन्माएका बच्चामध्ये कति जनाको मृत्यु भयो र पछिल्लो एक वर्षमा जन्मिएका बच्चाको विवरण पनि गणकहरुले माग्नेछन् ।
यो खण्डमा १८ वर्ष भन्दा मुनिका बालबालिका बाब, आमा, वा नातेदार कोसँग बसेका छन् भन्ने विवरणको साथमा अपांगतासम्बन्धी विवरण पनि संकलन गरिन्छ ।
आर्थिक क्रियाकलापसम्बन्धी विवरण
जनगणनाको प्रश्नावलीमा रहेको आर्थिक विवरणसम्बन्धी खण्डबाट व्यक्तिको मुख्य काम के हो भन्ने विवरण संकलन गरिन्छ । काम गर्ने ठाउँ वा संस्थाको नाम र त्यसले गर्ने वस्तु तथा सेवाको उत्पादनको विवरण पनि गणकहरुले खोज्नेछन् । अरुको काम गर्ने हो वा रोजगारदाता, आफ्नै काम गर्ने वा परिवारलाई सघाउने मात्र हो भन्नेबारे विवरण टिपोट गरिन्छ ।सरकारी, वित्तीय संस्था, गैरवित्तीय, नाफा नकमाउने संस्था र घरायसी कस्तो संस्थामा काम गर्ने भन्नेबारे पनि खुलाउनुपर्छ । बेरोजगार र काम खोज्दा पनि नपाएको अवस्था भए त्यसबारेमा पनि उल्लेख गर्नुपर्छ ।
किन महत्वपूर्ण छ जनगणना ?
नेपालजस्तो देशमा जनगणना यस्तो अभियान हो, जसबाट समग्र तथ्यांक संकलन गरिन्छ । त्यो पनि हरेक घर र परिवारमै पुगेर । भोलि टोल, वडा, गाउँको विकास गर्न कति बजेट चाहिन्छ भन्ने तथ्यांक यसै जनगणनामा आधारित भएर तयार हुन्छ । यस्तो तथ्यांक आगामी १० वर्षसम्म निरन्तर प्रयोग गरिनेछ ।
संघ, प्रदेश र स्थानीय तहमा स्रोतको बाँडफाँट गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय हस्तान्तरणको सूत्र बनाउँदा २०६८ सालको जनसंख्यालाई आधार मान्ने गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक रुपमा स्रोतको वितरण गर्नुपर्ने माग उठिरहेका बेला सबैभन्दा तल्लो तहबाट आउने यकिन तथ्यांकले जनसंख्याका आधारमा समानुपातिक ढंगले स्रोत बाँडफाँट गर्न सहज बनाउँछ ।
गोपनीयता हुन्छ कि हुन्न ?
जनगणनाका क्रममा गणकहरुलाई सहयोग गर्न सरकारले आग्रह गरेको छ । गणकले सोधेका प्रश्नको उत्तर गोप्य रहने छ । जनगणनाका क्रममा घरमुली र गणकबीचको कुराकानी तेस्रो व्यक्तिले सुन्न पाउने छैन । यसरी संकलन भएको सबै तथ्यांक व्यक्तिगत प्रयोजन, सम्पत्तिको स्रोतको सोधीखोजी वा अन्य मुद्दा–मामिलाको प्रयोजनमा तथ्यांक विभागले कसैलाई पनि दिन पाउँदैन ।
यथार्थ तथ्यांक आउला ?
जनगणनाका क्रममा घरमुलीले यथार्थ विवरण नदिने हो कि भन्ने डर तथ्यांक विभागलाई छ । परिवारबारे यथार्थ बताउन इन्कार गर्ने, घरमुलीलाई सबै विवरण थाहा नहुने समस्या देखिन सक्ने विभागको अनुमान छ ।
त्यसैले सञ्चार माध्यममार्फत जनचेतना जगाउने विभागले बताएको छ । यस वर्ष गणकको रुपमा कक्षा १२ पास गरेका स्थानीय युवालाई नै खटाइएको छ । प्रदेश कार्यालयका प्रमुख बरालले सबैले सहयोग गर्दा मात्रै सफल हुने भन्दै आफ्नो विवरण टिपाउन सहयोग गरिदिन अनुरोध गर्नुभयो ।