विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा प्रहरी दोषी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
कात्तिक १२ गते छानबिन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको प्रतिवेदनमा प्रहरी दोषी देखिएको हो । हिरासतमा राखेर चरम यातना दिएपछि बिरामी परेका कामतलाई प्रहरीले बेलैमा अस्पताल नलगेका कारण कामतको मृत्यु भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । घटनामा प्रत्यक्ष संलग्न ३ प्रहरीलाई विभागीय कारबाहीका लागि मोरङ प्रहरीलाई सिफारिस गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनाए । उनले सिसीटिभी फुटेजमा पनि स्पष्ट दृश्य नदेखिएकाले प्रहरीलाई सचेत गराई कामतको परिवारलाई आवश्यक क्षतिपूर्ति दिलाउन गृह मन्त्रालय पत्र समेत पठाईएको जानकारी दिए ।
भीम कामत मुत्यु प्रकरणमा भने मोरङका तीन जना प्रहरीको नाम बाहिर आएको थियो । मोरङ प्रहरीका असई ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एकजना उपर हिरासतमा रहँदा बिरामी भएको अवस्थामा समेत कामतलाई यातना दिएको आरोप छ ।
गत भदौ १८ गते ३ किलो ४८० ग्राम गाँजा सहित पक्राउ परेका कामतको भदौ २० गते आइतबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको थियो । छानबिनको क्रममा कामतलाई छारेरोग सम्बन्धी समस्या रहेको खुलेको थियो । गाँजा सहित पक्राउ परेको दिन बेलुकी ६ बजे र राती करिब १२ बजे पनि उनलाई रोगले आक्रमण गरेको थियो । महिला सेलकी इन्स्पेक्टर एल्जिना राईले उनलाई अस्पताल पु¥याएकी थिईन् । दुवैपटक विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरिएपछि उनलाई पुनः जिल्ला ल्याईएको थियो ।
घटना भएको दिनपनि बिहान करिब ८ बजे उनलाई छारेरोगले आक्रमण गरेको थियो । हातखुट्टा कडा भई काम्ने लगायतका लक्षण देखिएपनि प्रहरीले ध्यान दिएको थिएन् । करिब १२ बजे समस्या बढ्दै गएपछि मात्र प्रहरीले उनलाई अस्पताल लगेको थियो । तर, अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
यो पनि पढ्नुहोस : भीम कामत मृत्यु प्रकरणको छानबिन प्रतिवेदन पेश, प्रहरीको लापरबाही देखियो