विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड भएको छ ।
बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् । क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थापन संकायमा तालाबन्दी गरेका थिए । बुधबार पठनपाठन प्रभावित भएको भन्दै बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले ताला फुटाईदिएपछी बाहिरी पोशाकमा आएका अपरिचित विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तोडफोडबाट व्यवस्थापन संकायको कुर्सी, टेबल, झ्याल र ढोका लगायतमा क्षति पुगेको छ ।
बिबिएम संकायमा कम्प्युटर ल्याबको व्यवस्था गरिदिन राखेको माग सम्बोधन नभएपछि उनीहरुकै समर्थनमा तोडफोड गरिएको नाम नखुलाउने शर्तमा एक विद्यार्थीले बताए । तोडफोड गर्ने समूह भने क्याम्पसकै विद्यार्थी हुन वा होइनन् भन्ने बारे पुष्टि हुन सकेको छैन् । यद्यपि तोडफोडमा संलग्न विद्यार्थीहरु बिबिएम संकायका रहेको प्रत्यक्षदर्शीको दाबी छ । तर, बिबिएमका विद्यार्थीहरुले भने बिबिएसका विद्यार्थीहरुले तोडफोड गरेको आरोप लगाउँदै आएका छन् ।
बिबिएममा कम्प्युटर बेस फाईनान्सियल एकाउण्टिङ बिषयको २४ पुर्णाङ्कको बार्षिक प्रयोगात्मक परीक्षा हुने गरेको छ । उक्त परीक्षाका लागि कम्प्युटर ल्याबको अनिवार्य चाहिन्छ । तर, बिबिएमका विद्यार्थीहरुलाई उक्त बिषय अध्ययनका लागि क्याम्पसले हाल मात्र ८ वटा कम्प्युटर दिएको छ । बिबिएम संकायमा ८८ वटा सिट रहेकाले कम्तीमा पनि ४५ वटा कम्प्युटरको व्यवस्था हुनुपर्ने विद्यार्थीहरुको माग छ । तर, क्याम्पसले ध्यान नदिँदा हालसम्म विद्यार्थीहरुले समस्या झेल्दै आएका छन् ।
सोही बिषयमा क्याम्पसको ध्यानाकर्षण नहुँदा आक्रोशित विद्यार्थीहरुको समुहले मंगलबार व्यवस्थापन संंकाय र क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्दा विद्यार्थीहरुले ताला खोलिएकामा यसको जिम्मेवार क्याम्पस हुने चेतावनी समेत दिएका थिए ।
तर, बिबिएमका विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार बिबिएसका विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेपछि बिबिएस तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नै व्यवस्थापन संकायको उक्त ताला फुटाएका हुन् । विद्यार्थीहरुलाई पढाउन पुगेका प्राध्यापकले हाजिरी नगरी कक्षा नलिने बताएपछि विबिएस तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले ताला फुटाएका थिए । यद्यपि प्राध्यापकहरुले समस्या समाधान नहुन्जेल कक्षा नलिने बताएपछि बुधबार बिबिएसका विद्यार्थीहरुले अन्य संकायमा पनि कक्षा हुन दिएनन् ।
बिबिएसको कक्षा नहुन्जेल अन्य संकायमा पनि कक्षा नहुने अडान सहित विद्यार्थीहरुले बुधबार बिहान सबै संकायको पठनपाठन रोक्दै क्याम्पसको मेनगेटमा तालाबन्दी गर्दै करिब ८ बजे आ–आफ्नो घर गए । पछि अनुमतिबिना ताला फुटाएको भन्दै बाहिरी पोशाकमा आएका अपरिचितको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् ।
हाल उक्त घटनाका कारण बिबिए संकायका विद्यार्थीहरु प्रभावित भएका छन् । क्याम्पस प्रशासनमा लागेको तालाका कारण कर्मचारीहरुले प्रवेश नपाएपछि बिबिएका विद्यार्थीहरुले परीक्षा फारम बुझाउन पाएका छैनन् । परीक्षा फारम बुझाउने आज अन्तिम दिन हो । हाल बिबिएम संकायका विद्यार्थीहरुको माग सम्बोधनका लागि भने क्याम्पस प्रशासन, विद्यार्थी र विद्यार्थी संगठनबिच त्रिपक्षीय वार्ता भईरहेको छ ।