आज ३४ औं विश्व एड्स दिवस : संक्रमण न्यूनीकरणमा जनचेतना आवश्यक

आज ३४ औं विश्व एड्स दिवस : संक्रमण न्यूनीकरणमा जनचेतना आवश्यक

विराटनगर । आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यसवर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिन मनाईन्छ । सन् १९८८ मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाउने निर्णय गरेको थियो । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । मुख्यतः सुईद्वारा लागुपदार्थ सेवन र असुरक्षित शारिरीक सम्पर्कका कारण एचआईभी जोखिम उच्च हुने गरेको चिकित्सकहरु बताउँछन् ।

नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभीको संक्रमण देखिएको मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका जेनरल फिजिसियन डा. दीप राज यादवले बताउनुभयो । उहाँका अनुसार सन् २००५ सम्म तीव्र रुपमा बढ्दै गएको संक्रमण दर सन् २००६ देखि साम्य हुँदै गएको हो । ‘सन् २००६ देखि एचआईभीको संक्रमण दर न्यूनीकरण हुुँदै गएको हो,’ उहाँले भन्नुभयो, ‘यसमा सरकार र निजी क्षेत्रबाट भएको जनचेतना तथा रोकथामका प्रयासले सार्थकता पाएको देखिन्छ । समग्रमा भन्दा पछिल्लो समय विश्वभरि नै यसका संक्रमितहरुको संख्या घट्दै गएको छ ।’

“जन्मपश्चात पनि एचआईभी संक्रमित आमाको स्तनपान गर्दा बालबालिकामा संक्रमण देखिने गरेको छ । यस्तो अवस्थामा फर्मुला फिडिङ गराएर बालबालिकालाई जन्मपश्चात हुने संक्रमणबाट जोगाउन सकिन्छ ।”

अध्ययन अनुसार पछिल्लो समय असुरक्षित यौन सम्पर्क, संक्रमित व्यक्तिसँगको रक्तदान, प्रयोगमा आईसकेका सुईको प्रयोगले एचआईभीको संक्रमण बढेको हो । यसबाहेक गर्भावस्थामै पनि आमादेखि बच्चामा एचआईभीको संक्रमण हुने गरेको विराट मेडिकल कलेजका जेनरल फिजिसियन डा. यादवकोे भनाई छ । गर्भावस्थामै संक्रमित भएका बालबालिकाको हकमा नियमित औषधी सेवन गरे यसले शरिरलाई पुर्‍याउने असरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उहाँको सुझाव छ ।

यसका अतिरिक्त पछिल्लो समय जन्मपश्चात संक्रमित आमाको स्तनपान गर्दा पनि बालबालिकामा संक्रमण देखिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । यस्तो अवस्थामा फर्मुला फिडिङ गराएर बालबालिकालाई जन्मपश्चात हुने संक्रमणबाट जोगाउन सकिने डा. यादवको सल्लाह छ ।

पछिल्लो १० वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमण दर घटेको पाईन्छ । एड्सका कारण हुने मृत्युदर पनि ५५ प्रतिशतले घटेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । नेपालमा अहिले ३० हजार ३ सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना रहेका छन् । नेपालले भने सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्यसहित एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यद्यपि बिशेषतः ग्रामीण भेगमा चेतनाको अभाव यसको जोखिम अझै कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्