विराटनगरको फोहोर व्यवस्थापन : आफ्नो दायित्व घटाएर नगरवासीको टाउकोमा ऋणको भार

विराटनगरको फोहोर व्यवस्थापन : आफ्नो दायित्व घटाएर नगरवासीको टाउकोमा ऋणको भार

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै तीनवटा कम्पनिलाई जिम्मेवारी दिएपनि समस्या जस्ताको त्यस्तै छ । महानगरपालिकालाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजन गरेर फोहोर व्यवस्थापनको काम सुरु गरिएको हो ।

पाँचवर्ष अगाडी वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि.ले मासिक ११ लाख ३५ हजार रुपिँया महानगरले बुझाउने गरि फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी लिइएको थियो । गत मंसिर १ गतेदेखि लागु हुने गरि महानगरपालिकाले भुक्तानी गर्नुपर्ने दायित्व ४ लाख ३५ हजार एक रुपिँयामा झार्दै तीन कम्पनिलाई फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी दिइएको हो ।

महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी बेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.ले लिइएको छ । यसका लागि महानगरपालिकाले मासिक ९० हजार कम्पनिलाई बुझाउने सम्झौता भएको छ । त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरेको छ । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो । त्यसैगरी विराटनगरको दक्षिणी भेग वडा न १२, १३,१४ १५ १६ १७ र १८ आर एसडी सप्लायर्स सर्भिसेज प्रा.लि.ले फोहोर संकलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाले मासिक तीनलाख रुपिँया भुक्तानी गर्ने छ ।

विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी एउटै कम्पनिलाई दिदाँ व्यवस्थित हुन नसकेको भन्दै बहुकम्पनिको अवधारणामा लागिएको वातावरण शाखा प्रमुख अनिता कोइरालाले बताउनुभयो । महानगरपालिकाले दायित्व घटाउँदै नगरवासीले उत्पादन घरेको घरको फोहोरबाट रकम संकलन गर्न पाउने गरि नयाँ कम्पनिसँग सम्झौता गरेको कोइरालाले बताउनुभयो ।
जनप्रतिनिधिमूलक स्थानीय सरकारले संस्थागत दायित्व घटाएर नगरवासीलाई ऋणको भार पर्ने गरि कम्पनिसँग सम्झौता गरेको छ । अब महानगर क्षेत्रका कच्चा घरको फोहोर संकलन गर्दा मासिक ५० रुपिँया बुझाउनु पर्नेछ । हप्तामा दुई पटक फोहोर संकलन गर्नका लागि निम्न आयआर्जन भएका परिवारले मासिक एकसय, भुँईतला भएका साधारण घरका धनीले मासिक २००, सातै दिन फोहोर संकलन हुन क्षेत्र फुटपाथमा पसल चलाउने (चटपटे पलस, म.म., घुप्चुक) मासिक २००, फोटो स्टुडियो २५०, विशेष घरहरु प्रथम तलाभन्दा माथि भएका र पान पसल तथा फलामका काम गर्ने घरहरुमा ३००, साधारण पसलहरु ४०० रुपिँया बुझाउनु पर्नेछ । त्यस बाहेक साना स्वास्थ्य संस्थाहरुले ५००, मझौलास्तरका स्वास्थ्य संस्थाले ७००, ठूला औषधी पसल, मासु पसल, टायल्स, पेन्टस्, खाजा पसल, साना लज तथा मदिरा होटल, सैलुन, बोर्डिङ स्कूलले मासिक एक हजार बुझाउनुपर्ने छ । होलसेल पसललाई एक हजार २५०, गैरसरकारी संस्थालाई एक हजार ५०० बुझाउनु पर्नेछ ।

विस्तृतमा


विराटनगर महानगरपालिका क्षेत्रमा घरमा उत्पादन भएको फोहोरको वर्गिकरण गरेर मात्रै संकलन गरिने भएको छ । यसको काम कम्पनि आफैंले गर्नेछ । गत मंसिर १ गतेदेखि नै तीनवटा कम्पनिलाई फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी दिएपनि महानगर क्षेत्रको फोहोर भने अझैं उठ्न नसकेको स्थानीयको गुनासो छ ।
घरमा उत्पादन भएको फोहोर संकलन र व्यवस्थापनका लागि मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक मासिक दुईसय रुपिँया सेवाग्राहीले बुझाउने गरि सम्झौता भएको वातावरण शाखा प्रमुख कोइरालाले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका सफाईकर्मीलाई समेत निजी कम्पनिको जिम्मा लगाइको छ । कोइरालका अनुसार तीनै कम्पनिलाई महानगरपालिकाले १०–१० जना सफाई मजदुर दिने सम्झौता गरिएको हो ।

तीनवटा कम्पनिले कामको जिम्मेवारी लिएपनि महानगरपालिका भित्रको सडकका किनारामा थुप्रिएको फोहोर र नगरवासीको घरमा उत्पादन भएको फोहोरको व्यवस्थापन अझै हुन सकेको छैन । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले सम्झौता अनुसार सूचिकृत भएका कम्पनिले काम नगरेको खण्डमा वैकल्पिक व्यवस्थामा जान सकिने भन्दै कम्पनिहरुलाई सचेत गराउनु भएको छ । नगरवासीको गुनासोपछि प्रमुख प्रशासकिय अधिकृत बस्नेतले सार्वजानिक सूचना जारी गर्दै सम्झौता अनुसार सूचिकृत कम्पनिले काम तत्काल बढाउनु पर्ने नत्र अन्यथा निर्णय लिन सकिने चेतावनी दिनु भएको हो ।

तस्वीर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्