विरामीले खरिद गरेको औषधी ‘ड्यामेज’

विरामीले खरिद गरेको औषधी ‘ड्यामेज’

विराटनगर । कोसी अस्पताल विराटनगरस्थित साझा फार्मेसीबाट विरामीले खरिद गरेको एउटा औषधी ‘ड्यामेज’ पाइएको छ । अस्पतालकै स्टाफले एलर्जी समस्या निराकरणका लागि खरिद गरेको प्रुटेब–२५ नामक औषधी प्याकेजिङ्गमै ड्यामेज भेटिएको हो ।

औषधी सेवनका लागि पत्ताबाट निकाल्दा ट्याब्लेट धुलो भई हाल्ने समस्या देखिएपछि कोसी अस्पताल प्रशासनमा त्यस विषयमा छलफल गरिएको छ । भारतीय कम्पनी यस फर्मा ल्याब्रोटोरिज प्रा.लि.ले उत्पादन गरेको औषधी साझाले बिक्री गरेको थियो ।

साझा फार्मेसीका बिनोद राजबंशीले औषधीको प्रयोग मिति सन् २०२४ सम्म रहेपनि भित्र ड्यामेज पाइएको बताए । उनले आफूले प्रयोग मितिका आधारमा औषधी खरिद गरेर बिक्री गर्ने गरेको बताए । औषधीको गुणस्तरबाट उत्पादक कम्पनी नै जवाफदेही हुने राजबंशीको भनाई छ ।

अस्पताल प्रशासनले साझाबाट सेवाग्राहीले खरिद गरेको औषधीको बारेमा चासो राख्दै कम्पनीका प्रतिनिधिलाई झिकाउन सञ्चालक राजबंशीलाई आग्रह गरेको छ । अस्पताल प्रशासनका नवराज लुईटेलले औषधीमा समस्या देखिएकोले कम्पनी, वितरक, होलसेलर, खुद्रासम्मका सबैसँग सोधपुछ हुने दावी गरेका छन् ।

कोसी अस्पतालमै कार्यरत स्टाफले खरिद गरेका कारण ड्यामेज औषधी सेवन गरिएको छैन । चिकित्सकको सिफारिसमा अन्य बिरामीले समेत त्यहि औषधी खरिद गरेको भए सचेत भएर मात्रै सेवन गर्नका लागि आग्रह गरिएको छ । औषधी सेवनका लागि निकाल्दा फुटे वा धुलिए त्यो गुणस्तरहिन हुने भएकोले त्यस्तो औषधी सेवन नगर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्