विराटनगरका उद्योगीको गुनासो : एलसी खोल्नै मान्दैनन् बैंक

विराटनगरका उद्योगीको गुनासो : एलसी खोल्नै मान्दैनन् बैंक

विराटनगर । तरलताको अभाव देखाउँदै वाणिज्य बैंकहरुले लगानीमा आनाकानी गरिरहेको उद्योगीहरुले गुनासो गरेका छन् । बैंकहरुले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चाको अभाव हुने स्थिति आएको उनीहरुले दावी गरेका हुन् ।
बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटनगरका उद्योगीले वस्तु उत्पादन र आयात–निर्यात नै प्रभावित हुने स्थिति सिर्जना भएको बताएका हुन् । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले आफ्नै कार्यालय विराटनगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर लगानीमा बैंकहरु निक्रिष्ट बनिरहेको आरोप लगाएका छन् ।

बैंकहरुले एलसी खोल्न गएका उद्योगीसँगी लगानी पूर्वनै डिपोजिट गर्नुपर्ने शर्त राख्ने गरेको दावी छ । संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सिएनआईका संरक्षक उद्योगी पवन सारडाले बैंकहरुको कारण वस्तु आयातमा समस्या भईरहेको बताउनुभयो । बैंकमा एलसी खोल्न जाँदा पहिले डिपोजिट गर्नुपर्ने शर्त राखिन्छ, उद्योगी सारडाले भन्नुभयो–बैंकले उद्योगीलाई झुलाउन थालेपछि औद्योगिक क्षेत्र सुस्ताउने स्थिति आईसकेको छ ।

पछिल्लो समय बैंकका कारण अन्तराष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छवी समेत धुमिलिएको उद्योगी सारडाको भनाई छ । बैंकको साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रुपिँया पहिले नै जम्मा गर्नुपर्ने शर्त राखिरहेका छन्, उद्योगी सारडाले भन्नुभयो–पाँच करोड भए कर्जा माग्दै जानुपर्दथ्यो ?

चालु आर्थिक वर्षको पाँच महिनामा ७ प्रतिशतमात्रै पूँजीगत खर्च हुँदा त्यसको असर वस्तु उत्पादन गर्ने उद्योगहरुलाई परिरहेको उद्योगीहरुले तर्क गरेका छन् । त्यसमाथि बैंकहरुले लगानी गर्न नमान्दा औद्योगिक क्षेत्रमा समस्या भित्रिएको उनीहरुले जानकारी दिएका हुन् । वाणिज्य बैंकहरुको नियमन गर्नका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच मतमा एकरुपता आवश्यक रहेको उद्योगीहरुको सुझाव छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं उत्सव फुटवेयरका सञ्चालक देवेन्द्र गुप्ताले पछिल्लो दुई महिनायता बैंकका कारण एसली खोल्न नसकेको बताउनुभयो । उहाँले कच्चा अभाव भएर उद्योगबाट मजदुर बिदा हुने स्थिति आईसक्दा समेत एनएमबी बैंकले एसली खोल्न अस्वीकार गर्दै आएको दावी गर्नुभयो । कर्जा प्रवाहमा समेत १ प्रतिशत भन्दा कम प्रिमियम लिनुपर्ने प्रावधान विपरित उद्योगी हेरेर ३.५ प्रतिशतसम्म असुल्ने गरेको गुप्ताको भनाई छ ।

निक्षेप बढाउन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउनु पर्ने भएपनि ब्याजदर बृद्धि गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले बैंकहरु पुराना गाउँका साहुमहाजन जस्ता भएको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकले नियमन र नियन्त्रण नगरे औद्योगिक क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले बैंक सञ्चालक र लगानीकर्ता एकै व्यक्ति हुने प्रावधानलाई तोड्नका लागि सरकारले नीति ल्याउनुपर्ने माग राख्नुभयो । उद्योग घाटामा गए बैंकको नाफाबाट चल्ने उद्योगीहरुले उत्पादनको क्षेत्रमा लगानी अंकुश लगाएर देशको अर्थतन्त्रलाई धाराशायी बनाउन लागिपरेको अध्यक्ष घिमिरेको जिकिर थियो ।

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरु स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी एवं सिएनआईका सल्लाहाकार महेश जाजुको दावी छ । जसका कारण रोजगारी, राजश्व, वितरण प्रणाली एकैपटक अवरुद्ध हुँदै उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्य बढ्नसक्ने जाजुको बुझाई छ । पत्रकार सम्मेलनमा उद्योगी जाजुले बैंकहरुले राष्ट्र बैंकबाट पैसा नलिनुको कारण तरलता बढाएर ब्याजदरमा बार्गेनिङ्ग गर्ने मनसाय राखेको आरोप लगाउनुभयो । त्यसका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकले समयमै सचेततापूर्वक नियमन र नियन्त्रण गर्नुपर्नेमा उद्योगी जाजुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्