विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड घोटाला, रकम ट्रान्सफर गर्न विभिन्न बैंकमा खाता

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड घोटाला, रकम ट्रान्सफर गर्न विभिन्न बैंकमा खाता

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालय अन्तर्गत रेमिट शाखाका कर्मचारीले विभिन्न बैंकमा खाता खोलेर रकमान्तर गरेको खुलेको छ । गरेर आर्थिक अपचलन गरेको खुलेको छ । रेमिट्यान्स वापत बैंकको पार्किङ्ग एकाउन्टमा जम्मा भएको १५–१६ करोड रकम रेमिट शाखा कर्मचारी हिमाल भट्टराईले आफ्नो, आफन्त तथा संस्थाको नाममा समेत ट्रान्सफर गरेको खुलेको हो ।

बैंकका डेपुटी सिईओ कुमार खड्काका अनुसार छ वर्षदेखि रेमिट शाखामा कार्यरत भट्टराईले एनआईसी, ग्लोबल आईएमई, सिद्धार्थ बैंकमा आफ्नो नाममा रहेको खातामा रकम ट्रान्सफर गर्ने गरेको देखिएको छ । ठूलो रकम आफ्नै खातामा पठाएर आफैं उपस्थित भएर झिकेको देखिन्छ, डेपुटी निर्देशक खड्काले भन्नुभयो–केहि रकम अन्य व्यक्ति तथा संस्थाको नाममा रहेका खातामा पनि पठाएको पाइयो ।
भट्टराईलाई बैंकको सम्पति अपचलन गरेको आरोपमा मंसिर १९ गते मोरङ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । बैंकको बोर्ड बैठकको निर्णय अनुसार सिईओ नविन सुवेदीले दिएको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
बैंकका सिईओ सुवेदीका अनुसार पब्लिक निक्षेपमा असर नगरेपनि बैंकको सम्पतिमा भएको अपचलनले बैंकको नाफामा असर परेको छ । रेमिटेन्स वापत बैंकको पार्किङ्ग एकाउन्टमा जम्मा भएको रकम आफ्नो नाममा रहेको खातामा पठाउने गरेको देखिन्छ, सिईओ सुवेदीले भन्नुभयो–कतिपय प्रमाणले उनी आफैं उपस्थित भएर रकम झिक्ने गरेका रहेछन् ।

बैंकले छ वर्षदेखि क्रमशः रकम आफ्नो खातामा पठाएर अपचलन गरेको विषयको छानविन गर्न सात सदस्यीय आन्तरिक छानविन समिति समेत गठन गरेको छ । रेमिट शाखाका प्रमुखले आफैं हिसाब मिलान गर्ने भएकोले ‘बैंक टु बैंक’ रकमान्तर हुँदा लेखापरीक्षणमा देखिएन, सिईओ सुवेदीले भन्नुभयो–यस विषयमा छ वर्ष अगाडीदेखिको विवरण अध्ययन गरिरहेका छौं ।
कर्मचारी भट्टराईले कतिपय रकम मोवायल बैंकिङ्गको प्रयोग गरेर समेत आफ्नो नाममा पठाएको देखिएको छ । नगद नै भए हामीले त्यसैदिन जानकारी पाउँथ्यौं, तर हिसाब मिलान गर्ने जिम्मेवारी व्यक्ति समेत स्वयं हुँदा लामो समयपछि मात्रै पोल खुलेको हो । २०७१ साल मंसिरमा बैंकको टंकीसिनवारी शाखामा नियुक्त भट्टराई माघदेखि कर्पोरेट कार्यालयको रेमिट शाखा हेर्ने जिम्मेवारीमा रहेको बैंक प्रशासनले जानकारी दिइएको छ ।

बैङ्कको रेमिट शाखामा कार्यरत जुनियर अफिसरले यति ठूलो घोटाला गर्दा समेत बैंकले थाहा नभएको विषयले भने आशंका उब्जाएको छ । सिईओ सुवेदीले हिसाब मिलान गर्ने व्यक्ति स्वयम् हुँदा आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर तथ्यांक लुकाउने गरेको दावी गर्नुभयो ।
सिइओ सुवेदीले यस प्रकरणलाई नेपाल प्रहरीको सिआइबी र नेपाल राष्ट्र बैङ्कले अनुसन्धान गरिरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बैंकमा भएको हिनामिनाको आरोपमा पक्राउ परेका कर्मचारी भट्टराईलाई अभद्र व्यवहार मुद्दामा म्याद थप भईरहेको बताउनुभयो । बैंकिङ्ग कसुरमा प्रमाण जुटाउन समय लाग्ने भएको पहिलो २५ दिन अभद्र व्यवहार र त्यसपछि क्रमशः १५÷१५ दिनको म्याद थप गरि बैंकिङ्ग कसुरमा अनुसन्धान गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैंकिङ्ग कसुर आरोपमा अनुसन्धान म्याद ६० दिनको हुन्छ । बैंकले दिएको उजुरीमा १५ देखि १६ करोड रुपिँया अपचलन भएको उल्लेख गरिएको छ ।

आरोपित भट्टराईलाई देवानी वा फौजदारी कुन प्रकृतिको मुद्दा लगाउने भन्ने बारेमा समेत प्रहरीले कानुनी परामर्श गरिरहेको छ । प्रवक्ता श्रेष्ठले कुन प्रकृतिको मुद्दा लगाउने भन्ने विषयमा राष्ट्र बैङ्क र कानुनविज्ञसित समन्वय भइरहेको दावी गर्नुभयो । बैङ्कको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ । तर, केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ । सप्तकोशी पूर्वकै ठूलो विकास बैङ्क मानिन्छ । यो बैङ्क प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ । वार्षिक ४ अर्ब ५० करोड कर्जा प्रवाह गर्दै आएको बैंकले ४ अर्ब ४० करोड निक्षेप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्