दश टन क्षमताको सडकमा ९० टनका सवारी

दश टन क्षमताको सडकमा ९० टनका सवारी

विराटनगर । विराटनगर भन्सार कार्यालय हुँदै दैनिक २०० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् ।

आईसीपीको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपालका निर्देशक लक्ष्मी सुब्बाका अनुसार न्यूनतम दश टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रने गरेका छन् । बल्क कार्गोमा आएका फलाम उद्योगका सामान बोकेका मालवहाकको भारवहन ९० टनसम्म हुने गरेको निर्देशक सुब्बाले जानकारी दिनुभयो । न्यूनतम १० टनदेखि अधिकतम ९० टनसम्मका गाडी भित्रने गर्दछन्, निर्देशक सुब्बाले भन्नुभयो–अधिक संख्यामा ३०–४० टनका सवारी हुन्छन् । आईसीपी क्षेत्र प्रवेश गरेका मालवहाक सवारीको वजन ट्रान्स नेपालले नै गर्दछ ।

तर, यतिबिघ्न भार बोकेर कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक करिडोरको दुहबीसम्म पुग्ने मालवहाक सवारी गुड्ने सडक भने दश टन क्षमताको मात्रै छ । दश टन भारवहन क्षमताको सडकमा ९० टनसम्म वजन बोकेका सवारी गुडेकै कारण कोशी राजमार्ग अन्तर्गत विराटनगर–१८ को आईसीपी प्रवेश बिन्दुदेखि बुढिगंगाको नेमुवासम्मको सडकमा समस्या देखा परेको छ लेन सडक आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्माको दावी छ ।
सडक निर्माणपछि त्यसको प्रयोग व्यवस्थापनमा ध्यान पु¥याउने निकाय यातायात व्यवस्था र ट्राफिक प्रहरी कार्यालय अनभिज्ञ जस्तो छ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगर, मोरङका प्रमुख अनमोलमणी भट्टराईले अहिलेसम्म कुनै निकायले सडकको भारवहन क्षमता यति मात्रै हो भनेर जानकारी नगराएको बताउनुभयो । उहाँले सडकमा कति भारवहन क्षमताको सवारी गुड्नुपर्ने हो भन्ने मापदण्डसहितको परिपत्र कतैबाट नभएको दावी गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्का सडक भत्केको विषय ट्राफिकसँग सम्बन्धित नभएको बताउनुहुन्छ । उहाँले सरकारको परिपत्रका आधारमा औद्योगिक वस्तु बोकेर हिड्ने सवारीलाई ट्राफिक प्रहरीले अवरोध गर्न नमिल्ने बताउनुभयो । तर, यदि ट्राफिक प्रहरीलाई भारवहन नियन्त्रण गर्ने अधिकार दिएपनि ५०० देखि एक हजार ५०० सम्म जरिवाना लिदाँ सडकमा सवारी गुड्न नछोड्ने खड्काको भनाई छ ।
छ लेन आयोजनाले यातायात व्यवस्था र ट्राफिकले सडक प्रयोग व्यवस्थापन मिलाउन नसक्दा समस्या भएको आरोप लगाउँदै आएको छ । एउटै लेनमा बढी भार बोकेका सवारी गुडेका कारण सडक भत्कने गरेको आयोजनासँग सम्बन्धित पक्षको बुझाई छ । निर्माण भएको सडकमा सवारी गुडाउने व्यवस्थापन मिलाउने जिम्मा यातायात र ट्राफिकको हुने शर्माको जिकीर छ । शर्माले आशिष निर्माण सेवाले कालोपत्रे गरेको सडकमध्ये भत्केको क्षेत्र अहिले मर्मतको काम सुरु गरिसकिएको जानकारी दिनुभयो ।

कोशी राजमार्ग अन्तर्गत आईसीपी प्रवेश बिन्दुदेखि रानी नहरसम्मको तीन किलोमिटर क्षेत्रमा अहिले मर्मतको काम भईरहेको शर्माले बताउनुभयो । ‘ओभर लोड’का कारण ‘रटिङ लिक’ (पिच दबेको) क्षेत्र ‘केयरी फाई’ (तह खुर्केर) मर्मत गर्ने काम भईरहेको छ, आयोजना प्रमुख शर्माले भन्नुभयो–तल्लो तहको रोडा र गोटी यथावत् छ, माथिल्लो तहको ‘अल्फाल्ट’ तह हिलिएको छ । उहाँले ठेक्का सम्झौता भएको आशिष निर्माण सेवाले हिलिएकोेमध्ये विभिन्न भाग गरि ८०० मिटर सडकलाई १० सिएम गहिराईसम्म भत्काएर मर्मत गरिरहेको जानकारी दिनुभयो । सम्झौता अनुसार निर्माण कम्पनी आफैंले सडकको मर्मत गर्नुपर्नेछ ।

आशिष निर्माण सेवाका इन्जिनियर सागर बडालले डिजाइनमै त्रुटी भएका कारण सडकमा समस्या देखा परेको दावी गर्नुभयो । दश टन भारवहन क्षमताको सडक डिजाईन गरेर ९० टनसम्मको सवारी एकै लेनमा गुडाउँदा भत्केको इन्जिनियर बडालको दावी छ । साढे तीनवर्ष अगाडी निर्माण सम्पन्न भएको सडक मर्मत गरेपनि ओभर लोड भएका सवारी नियन्त्रण नगरे समस्या दोहोरिने इन्जिनियर वडालको भनाई छ । सडकको मध्यबिन्दुदेखि पश्चिम क्षेत्रमा मात्रै सडक दब्नुले पनि भारवहन क्षमताकै प्रभाव रहेको पुष्टि हुने इन्जिनियर बडालले बताउनुभयो ।
राजमार्ग भत्केको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले समेत चासो राख्दै आउनु भएको छ । ओभर लोड कन्ट्रोलले औद्योगिक क्षेत्रलाई समस्या पर्ने गुनासो आईरहेको छ, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो–सडकको भारवहन क्षमता बढाउने की ओभर लोड कन्ट्रोल गर्ने भन्ने विषयको बहस चलेको छ । उहाँले राजश्व परामर्श र सरोकारवाला पक्षसँगको बैठकमा लोड कन्ट्रोल गर्ने विषयमा छलफल भईरहेको बताउनुभयो । सडक र सवारीको भारवहन क्षमताको सन्तुलन मिलाउने विषयमा उद्योगी–व्यवसायीसँग समेत छलफल गरिने उहाँले दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्