मोरङका छोटी भन्सारमा राजश्व संकलन भन्दा खर्च बढी

मोरङका छोटी भन्सारमा राजश्व संकलन भन्दा खर्च बढी

विराटनगर । व्यापार सहजीकरणका लागि मुख्य भन्सार बिन्दु बाहेक, मोरङका छोटी भन्सार राजश्व बृद्धि गर्ने भन्दा खर्च बढाउन मात्रै सञ्चालित रहेका छन् । जिल्लामा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्रमा नौ वटा छोटी भन्सार छन् । जसमध्ये सञ्चालित ३ छोटी भन्सारको वार्षिक राजश्व संकलन, कार्यालय सञ्चालन खर्च भन्दा कम छ ।

स्थानीय व्यापारका लागि सहजीकरण गर्ने भनिएपनि भारततर्फ छोटी भन्सारका लागि आवश्यक पर्ने उस्तै प्रकृतिको संरचना छैन । विराटनगर भन्सारका मुख्य भन्सार अधिकृत ताराप्रसाद सापकोटाका अनुसार नेपालतर्फ मात्रै सञ्चालित छोटी भन्सारको राजश्व नगन्य मात्रै छ । राजश्व संकलन भन्दा प्रशासनिक खर्च बढी छ, भन्सार प्रमुख सापकोटाले भन्नुभयो–मुख्य भन्सार बिन्दु बाहेकको काम देखिदैन ।

राजश्वमा योगदान दिननसक्ने छोटी भन्सार सञ्चालनमा समेत समस्या रहेको छ । धनपालथान–२ को मायागञ्ज, रंगेली र सुनवर्षीको डाइनिया छोटी भन्सार अहिले सञ्चालनमा छन् । एकजना सुब्बा र दुईजना सहयोगी कर्मचारीसहित सञ्चालित छोटी भन्सारको वार्षिक राजश्व भने अतिन्यून छ । भारततर्फ भन्सार प्रशासनको काम गर्ने निकाय छैन, नेपालतर्फ मात्रै हुँदा यसको प्रभावकारीता देखिदैन, प्रमुख भन्सार अधिकृत सापकोटाले भन्नुभयो–अन्दाजको भरमा राजश्व संकलन गर्ने छोटी भन्सार आवश्यक देखिदैन ।

जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेको तरिगामा, रतुवामाई नगरपालिकास्थित बरडंगाको चुनिबारी, चौकीघाट छोटी भन्सर २०५३ सालदेखि बन्द छन् । तत्कालिन द्वन्दका कारण बन्द भएका छोटी भन्सार पुनः सञ्चालनमा आउन सकेका छैनन् । तर, भन्सारका अधिकारीहरुले भारततर्फ उस्तै भन्सारको सुविधा नहुँदा नेपालतर्फ यस्ता छोटी भन्सारको संरचना जरुरी नै नभएको बताउँछन् ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले मायागञ्ज छोटी भन्सारले वार्षिक ६ लाखको पेरिफेरीमा राजश्व संकलन गर्दै आएको छ । बाँकी सञ्चालनमा रहेपनि रंगेली र डाइनियाबाट राजश्व संकलन नै हुँदैन । प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपिँयासम्मको सामान ल्याउँदा छोटी भन्सारले राजश्व संकलन गर्दछ । भन्सार अधिकृत तिवारीले खुल्ला सीमा क्षेत्र भएका कारण भन्सारमा नगईकनै सामान ल्याउनेको संख्या धेरै हुन्छ । यस्तो हुँदा भन्सार राजश्व उठ्न सक्ने संभावना छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्