राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई

राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ ।

आज सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधि विजेता चितवनको तर्फबाट कप्तान वीरेन्द्र पाण्डेले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभएको थियो । चितवनका पाण्डेले प्रतियोगिताको २२औँ मिनेट र थप गरिएको अतिरिक्त चार मिनेटमा गोल गर्नुभएको थियो भने गुरुङले प्रतियोगिताको ११औँ मिनेटमा एक गोल गर्नुभएको थियो । कालभैरव हेटौँडाको तर्फबाट डेविन श्रेष्ठले थप गरिएको अतिरिक्त तेस्रो मिनेटमा एक गोल गर्नुभयो ।

चितवन भेट्रान्सले उपाधिसँगै रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको कालभैरव भेट्रान्स क्लब हेटौँडाले रु.५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । आजको खेलमा चितवन भेट्रान्सका सुरज गुरुङ म्यान अफ म्याच घोषित हुनुभयो ।

त्यस्तै प्रतियोगिताभरको सर्वाधिक गोलकर्ता चितवन भेट्रान्सका कप्तान वीरेन्द्र पाण्डे हुनुभएको छ । पाण्डेले प्रतियोगिताभरि चार गोल गर्नुभएको थियो । त्यसैगरी उत्कृष्ट गोलरक्षक चितवन भेट्रान्सका गोलरक्षक राजकुमार गुरुङ, उत्कृष्ट डिफेन्डर कालभैरव हेटौँडाका हेमकुमार शर्मा, उत्कृष्ट मिडफिल्डर कालभैरव हेटौँडाकै दीपककुमार राई तथा सर्वोत्कृष्ट खेलाडी चितवन भेट्रान्सका हर्कबहादुर गुरुङ घोषित हुनुभएको छ । उत्कृष्ट खेलाडीले रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

‘खेलाडीलाई खेलेर बाँच्ने अवस्थाको सिर्जना गर्नेछौँ’

गण्डकी प्रदेशका सांसद एवं विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले खेलाडीलाई खेलेर बाँच्ने अवस्था सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा आज आयोजित कार्यक्रममा सांसद लामिछानेले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेलकुदको सम्मान गर्ने अवस्थाको सिर्जना गर्ने बताउनुभयो । “खेलाडीले आफूलार्ई खेलाडीको माध्यमबाट परिचय दिनुका साथै आफ्नो जिल्ला, प्रदेश र मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्”, लामिछानेले भन्नुभयो, “राष्ट्रका लागि खेलाडीको योगदान महत्वपूर्ण रहेको छ । खेलकुदकै माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छौँ ।” राज्यले खेलकुदको क्षेत्रमा उचित लगानी गर्न नसकेको सांसद लामिछानेले स्वीकार गर्नुभयो ।

साना बालबालिकाले आफूलाई खेलाडीकारूपमा चिनाउन खोज्दा राज्यले जिम्मा लिन नसकेको अवस्था रहेको लामिछानेको भनाइ छ । “खेलाडीले राज्यका लागि खेल खेल्दा उसले राज्यको तर्फबाट पाउनुपर्ने सम्मानमा कमी छ”, लामिछानेले भन्नुभयो, “खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्नका लागि मेरो ठाउँबाट प्रयत्नशील रहनेछु ।” आफू सधैँ सबै खेलाडीको साथमा रहने समेत लामिछानेले प्रतिबद्धता जनाउनुभयो ।

सबै खेलाडी अनुशासित हुने भन्दै सांसद लामिछानेले नागरिकलाई अनुशासित बनाउन पनि सबैलाई खेलकुदमा सहभागी गराउनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पङ्गेनीले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्