शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे ।

ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले विमलको पासमा गोल गरेका थिए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अङ्क पुगेको छ । मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अङ्कले पछि पारेको छ । मनाङको १९ अङ्क छ । ब्रिगेड ब्वाइज अङ्क तालिकाको १२औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्