किसानको उखुसँगै उपभोक्तालाई बढ्यो चिनीको मूल्य, तस्करीको चिनीले चिन्तामा व्यापारी

किसानको उखुसँगै उपभोक्तालाई बढ्यो चिनीको मूल्य, तस्करीको चिनीले चिन्तामा व्यापारी

विराटनगर । किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । उखुको मूल्य गतवर्षको ५४४ रुपिँया ३३ पैसाबाट ५९९ रुपिँया चालु सिजनका लागि पुगेपछि चिनीको मूल्य ७६ रुपिँयाबाट ८६ रुपिँया प्रतिकेजीसम्म बृद्धि गरिएको हो ।
उद्योगीले एक क्विन्टल उखुबाट ९ किलो चिनी उत्पादन गर्दछन् । क्विन्टलमा ५५ रुपिँया मूल्य बढेको भन्दै उद्योगीले केजीमा १० रुपिँयासम्म चिनीको मूल्य बढाएका हुन् ।

उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका विराटनगरका व्यापारी जीवन रिजालले सुनसरी–मोरङ करिडोरको इष्टर्न सुगरले ७६ रुपिँयाबाट ८४.५ रुपिँया प्रतिकेजी मूल्य बनाएको जानकारी दिनुभयो । यसैगरी एभरेष्टले ८६ र इन्दुशंकरले ८४.५ रुपिँया पु¥याएको छ ।
उखुसँगै चिनीको मूल्य बृद्धि भएपनि भारतबाट तस्करी भएर आउने चिनीले बजार प्रभावित बनाईरहेको व्यापारी रिजालले जानकारी दिनुभयो । उखुको मूल्य बढेको आधारमा उद्योगीले मूल्य बृद्धि गरेपनि त्यो भन्दा कम मूल्यमा भारतबाट तस्करी भएर आउने चिनी बजारमा पाइने गरेको हो ।

सिजनमा मासिक एकसय गाडी चिनी बिक्री गर्दै आउनु भएका रिजालले अहिले तस्करीको चिनीले नेपाली उत्पादनलाई असजिलो बनाईरहेको बताउनुभयो । माघ लागेपछि चिनी उद्योगहरुले मूल्य निर्धारण गर्दै आएका छन् । नेपालका उद्योगमध्ये महेन्द्रनगरको भागेश्वर सुगर मिलले सबैभन्दा सस्तो ८२.७५ रुपिँया प्रतिकिलो चिनीको मूल्य तोकेको रिजालले बताउनुभयो । तर, महेन्द्रनगरबाट विराटनगरसम्म ढुवानी गरेर ल्याउँदा मूल्य उतिनै पुग्छ ।

उखुसँगै चिनीको मूल्य बृद्धि भएपछि यो वर्ष खुद्रा मूल्य ९५ रुपिँया माथि पुग्ने अनुमान गरिएको छ । उद्योगबाट खरिद गरेको चिनी थोक बिक्रेताले ८८ रुपिँयासम्म बिक्री गर्दछन् । रिजालका अनुसार खुद्रा बिक्रेताले उपभोक्तालाई ९५ रुपिँया भन्दा बढी लिनेछन् ।
तर, नेपालका व्यापारीले नेपाली उत्पादन खरिद गरेर बिक्री गर्न नसकिने दावी गरेका छन् । सीमा क्षेत्रबाट दैनिक ठूलो परिमाणमा अवैध चिनी भित्रदाँ त्यसको असर नेपाली उत्पादनमा पर्ने बताइन्छ ।
नेपालको चिनी खरिद गरेर भण्डारण गर्दासम्म न्यूनतम ८६ रुपिँया पर्ने रिजालको दावी छ । तर, भारतबाट भित्रिएको चिनी बजारमा ७२ रुपिँयामा खुद्रा व्यापारीसम्म आईपुग्ने गरेको छ । उपभोक्ताले ७६ रुपिँयासम्ममा भारतबाट तस्करी भएर आएको चिनी पाउने भएकोले नेपालको चिनी बिक्री गर्न समस्या पर्ने दावी गरिन्छ ।

विराटनगरका चिनी स्टकिस्ट रिजालले भारतका चिनी उद्योगले नेपाली रुपिँया ५४.४० प्रतिकिलो चिनीको मूल्य तोकेका छन् । सरकारको अनुदान पाएका कारण भारतमा चिनी सस्तोमा बिक्री हुने गरेको छ । सरकारले वैधानिक रुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार र भ्याट १३ प्रतिशत बुझाउनु पर्नेहुन्छ । यसरी आयात गर्दा एक केजी चिनीमा ३० रुपिँया खर्च हुने भएकोले वैधानिक आयात गरेको चिनीको मूल्य समेत ९० रुपिँयाको हाराहारीमा पुग्ने रिजालले बताउनुभयो ।
भारतसँग सीमा जोडिएका जिल्लामा दैनिक एक हजार टनसम्म चिनी अवैध रुपमा भित्रने दावी गरिन्छ । यदि भन्सार दस्तुर सरकारले घटाएमा वैधानिक बाटो भएर चिनी आयात हुने व्यापारीको भनाई छ ।
चालु सिजनमा नेपालमा एक लाख ६० हजार टन आसपास चिनी उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष एकलाख ३० हजार टन चिनी उत्पादन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्