निगम अझै मासिक साढे चार अर्ब घाटामा

<span class='c1'>निगम अझै मासिक साढे</span> <span class='c2'>चार अर्ब घाटामा</span>

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल/मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपालको पेट्रोलियम इतिहासमा २०७० सालमा डिजेल तथा पेट्रोलको मूल्यले उच्च विन्दु कायम गरेको थियो । २०७० साल फागुन ३० गते निगमले मूल्य समायोजन गर्दै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १४० र डिजेल/मट्टितेलको बिक्री मूल्य प्रतिलिटर र. १०९ तोकेको थियो ।

निगमले गएरातिदेखि डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ वृद्धि गरेको छ । मूल्य बढेसँगै डिजेल÷मट्टितेलको भाउ प्रतिलिटर रु १२५ र पेट्रोलका भाउ प्रतिलिटर १४२ पुगेको छ । यो अहिलेसम्मै उच्च हो । पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलर आसपास छ । त्यस्तै अमेरिकी डलरको सटही दर बढेर ११९ माथि पुगेको छ । आर्थिक वर्ष २०७०/७१ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.५२ अमेरिकी डलर थियो । सोही वर्ष अमेरिकी डलरको सटही दर ८७.२८ रुपियाँ थियो ।

पछिल्ला १० वर्षमा पेट्रोलियमको मूल्यमा निकै उतारचढाव देखिएको छ । सो अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर घटेर रु.९८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु ८८ सम्म झरेको थियो । २०७० फागुनमा प्रतिलिटर रु.१४० पुगेको पेट्रोलको मूल्य २०७१ असारमा प्रतिलिटर १३४ रुपियाँ ५० पैसा, २०७२ असारमा प्रतिलिटर रु.१०९, २०७३ असारमा प्रतिलिटर रु.९९, २०७४ असारमा प्रतिलिटर रु ९८, २०७५ असारमा प्रतिलिटर रु.११३, २०७६ असारमा प्रतिलिटर रु.१०८, २०७७ असारमा प्रतिलिटर रु.१०२ र २०७८ असारमा प्रतिलिटर रु.१२९ पुगेको थियो ।

यस्तै डिजेल/मट्टितेलको मूल्य २०७० असारमा प्रतिलिटर रु १०९ थियो । २०७१ असारमा प्रतिलिटर १०५ रुपियाँ ५० पैसा, २०७२ असारमा ८६ रुपियाँ ५० पैसा, २०७३ असारमा प्रतिलिटर रु.७५, २०७४ असारमा प्रतिलिटर रु ७४, २०७५ असारमा प्रतिलिटर रु.९५, २०७६ असारमा प्रतिलिटर ९६ रुपियाँ ५० पैसा, २०७७ असारमा प्रटिलिटर रु.८८ र २०७८ असारमा प्रतिलिटर रु ११२ रुपियाँ थियो ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा ६ पटक, आव २०७६/७७ मा ५, आव २०७७/०७८ मा १५ र चालु आवको पछिल्लो ६ महिनामा तीनपटक पेट्रोलको मूल्य सामायोजन गरेको थियो ।

अझै साढे चार अर्ब घाटा

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको छ । सञ्चित बचत सकिएको छ । मूल्य समायोजन गरे पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीको भनाइ छ । प्रतिमहिना रु.पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थ खरिद गरेबापत प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखका दिन आइओसीलाई भुक्तानी गर्दै आएको छ । अघिल्लो पटक सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेका निगमका अधिकारी मुखैमा आएको किस्ता कसरी तिर्ने भन्ने चिन्तित छन् ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत रु.एक अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपियाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपियाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपियाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपियाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपियाँ ६२ पैसा घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक रु साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब रु.दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा रु.४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु.एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट रु दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) रु तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) रु १६ करोड नाफा हुने निगमको आङ्कलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपियाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपियाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपियाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपियाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपियाँ ७२ पैसा नाफा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्