इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

चितवन । इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।

गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली सङ्कलनका सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो । गाउँपालिका यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु.१० लाख विनियोजन गरेको गुरुङले बताउनुभयो । यसै वर्षबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उहाँको भनाइ छ ।

पालिकाले यसअघि कृषकलाई कुखुराको चल्ला वितरण, छोरी जन्माउनेलाई रु.१० हजार खातामा राख्नेजस्ता महत्वपूर्ण काम गरिसकेको छ । विकास निर्माणसँगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्