सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा. महत

<span class='c1'>सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले</span> <span class='c2'>हेर्नुपर्छ : प्रवक्ता डा. महत</span>

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई हेर्ने दृष्टिकोण अन्य देशलाई जस्तै हुनुपर्ने बताउनुभयो ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नुपर्ने उहाँको तर्क छ । उहाँले थप्नुभयो, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसदमा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।” संसदमा छलफल भए यस विषयमा निकास निस्कने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उहाँले काँग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।” दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्