ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले ग्याल्पो ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताउनुभयो । ग्याल्पो ल्होसारका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्दै उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व नेपालका गौरवका रूपमा रहेको बताउनुभएको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देश निर्वाचनमा प्रवेश गरेको भन्दै उहाँले ग्याल्पो ल्होसारले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैलाई प्रेरित गरोस् भनी कामना गर्नुभएको छ । ग्याल्पो ल्होसारमा शुद्ध पानी चढाई देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्