डाक्टर भगवान कोइरालाको प्रादेशिक बाल अस्पताललाई यसरी जुट्दै छ सहयोग

डाक्टर भगवान कोइरालाको प्रादेशिक बाल अस्पताललाई यसरी जुट्दै छ सहयोग

विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँग सोमबार सम्झौता गरिएको हो ।

गैरनाफामुलक काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको अध्यक्ष प्रा.डा.भगवान कोइराला र सुर्योदयका मेयर रणबहादुर राईबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको उपस्थितिमा सम्झौता गरिएको छ ।
काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले प्रदेश १ का बालबालिको स्वास्थ्य उपचारमा विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्यले झापाको दमक–७ स्थित नेपाल रेडक्रसको भवनमा बाल अस्पताल सञ्चालननमा ल्याउने तयारी गरिरहेको छ । अध्यक्ष प्रा.डा. कोइरालाले आगामी तीन महिना भित्रमा सेवा सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

अस्पताल सञ्चालनका लागि सुर्योदयन गरपालिकाले दशलाख रुपिँया सहयोग प्रदान गरेको हो । दुईतर्फी सम्झौता अनुसार दमक बाल अस्पताल निर्माणका लागि सुर्योदय नगरपालिकाले दश लाख उपलब्ध गराउनेछ । दमकस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा सञ्चालनमा आउने ५० शै्याको अस्पतालले सुर्योदय नगरपालिका भित्रका अतिविपन्न तथा गरिब परिवारका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ । नेपाल रेडक्रस सोसाइटी दमकसँग ३० वर्षको लागि निःशुल्क भवन प्रयोग गर्ने सम्झौता भएसँगै अस्पताल सञ्चालनको काम अगाडी बढाइएको हो ।


मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा भएको दुईतर्फी सम्झौतापछि संघीयताको प्रारम्भिक अभ्यासमा स्थानीय तह र प्रदेश सरकार कमजोर रहेको बेला गैरनाफामुलक तथा निजी क्षेत्रको योगदानले नागरिकको सुरक्षामा जोड दिनुपर्ने उहाँले बताउनु भएको थियो । सरकार र नागरिक दुवै क्षेत्रलाई सहयोग पुग्ने गरि सेवा क्षेत्रमा हुने लगानीलाई प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राईको दावी थियो । मुख्यमन्त्री राईले प्रादेशिकस्तरको बालस्वास्थ्य अस्पताल सञ्चालनका लागि सुर्योदय नगरपालिकाले अपनाएको अवधारणा क्रमशः अन्य स्थानीय तहमा विस्तार गर्दै लैजान आग्रह गर्नु भएको थियो ।

सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले गरिब तथा विपन्न परिवारका नागरिकले आफ्ना बालबालिका बिरामी परेर काठमाण्डौं पुग्नुपर्दा झन् गरिबी बढाएकोले घरपायक नै विशिष्टकृत सेवा सञ्चालन हुनु खुशीको कुरा भएको बताउनुभयो ।
गैरनाफामुलक अस्पताल सञ्चालनका लागि काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले निजी क्षेत्रसँग समेत सहकार्य र सहयोग गर्दै जाने प्रा.डा.कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले एघार लाख रुपिँया व्यक्तिगत सहयोग उपलब्ध गराईसक्नु भएको छ । बाँकी निजी क्षेत्रका संघसंस्थासँग समेत अहिले सहयोगका लागि छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । बालस्वास्थ्य सेवाको विशिष्टकृत सुविधासहित दमकमा तीन महिना भित्रमा अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले काठमामाण्डौंको बुढानिलकण्ठ–७ मा २०० शै्याको अस्पताल निर्माणको काम अगाडी बढाउने तयारी गरेको छ । उक्त अस्पताल आगामी तीनवर्ष भित्रमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । प्रदेश १ पछि क्रमशः अन्य प्रदेशमा समेत अस्पताल निर्माण र सञ्चालनमा गर्दै लैजाने लक्ष्य राखिएको छ ।

करुण फाउन्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटाले नेपालमा कुल जनसंख्याको २५ प्रतिशत गरिबीको रेखामुनी रहेको र कुल जनसंख्याको ४० प्रतिशत १८ वर्षभन्दा कम उमेरका रहेको बताउनुभयो । बालबालिकाको स्वास्थ्य जटिलतालाई बुझेर उपचार गराउने विशिष्टकृत अस्पताल अभाव हुँदा समस्या परिरहेको बेला प्रादेशिकस्तरमा अस्पताल सञ्चालनमा आउने कुरा सामान्य नभएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्